चकलेट प्रेमीहरूका लागि नमिठो खबर छ – चकलेट महँगो हुँदैछ।
र, यो महँगिने क्रम आउँदा दिनहरूमा पनि जारी रहने देखिन्छ।
द गार्डियन पत्रिकाका अनुसार युकेमा गएको एक वर्षमा चकलेटको मूल्य झन्डै १३ प्रतिशत बढेको छ। निल्सन आइक्यु नामक शोध कम्पनीका अनुसार अमेरिकाका स्टोरहरूमा पनि कोकोयुक्त चकलेट गत वर्षको तुलनामा १० प्रतिशतभन्दा बढी महँगो भएको छ।
चकलेट बनाउन प्रयोग हुने मुख्य कच्चा पदार्थ हो कोको फलको दाना। सन् १९८० को दशकयता न्यूयोर्कको फ्युचर्स कारोबार बजारमा कोको दानाको प्रति मेट्रिक टनको मूल्य प्रायः ३,५०० डलरभन्दा कम नै रहँदै आएको थियो। तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अहिले यो कैयन बहुमूल्य धातुभन्दा महँगो भएको छ र बिटकोइनभन्दा तीव्र गतिमा उकालो लागिराखेको छ।
सन् २०२२ को उत्तरार्द्धदेखि बढ्न थालेको कोको दानाको मूल्य यो वर्ष त अकासियो नै। सन् २०२४ को सुरूका तीन महिनामा यसको मूल्य दोब्बरभन्दा बढी भयो भने एक वर्षअघिको तुलनामा तीन गुणाभन्दा धेरै पुगेको छ।
यसपालिको भ्यालेन्टाइन्स डेभन्दा ठीकअगाडि कोको दानाको मूल्यले सन् १९७७ मा कायम भएको ५,४०० डलर प्रति मेट्रिक टनको रेकर्ड तोड्यो। मार्च महिनाको अन्त्यतिर न्यूयोर्क र लन्डनका फ्युचर्स कारोबार बजारमा १० हजार डलर प्रति मेट्रिक टनको आँकडा पहिलोचोटि पार गर्यो।
यो अभूतपूर्व मूल्यवृद्धिका पछाडि प्राकृतिक र मानव सिर्जित विभिन्न कारक तत्वहरू छन्।
तीमध्येको एक प्रमुख कारण दशकौंयताकै ठूलो कोको आपूर्तिको अभाव हो। विश्व बजारमा लगातार तेस्रो वर्ष कोको उत्पादन मागभन्दा कम हुने देखिएको छ। अन्तर्राष्ट्रिय कोको संगठन (आइसिसिओ) का अनुसार सन् २०२३/२४ को सिजनमा कोको आपूर्ति अघिल्लो वर्षको तुलनामा झन्डै ११ प्रतिशतले घट्नेछ।
घाना कोको बोर्डले केही समयअघि सन् २०२३/२४ को उत्पादन पछिल्लो २२ वर्षकै कम हुने आकलन गरेको थियो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सद्वारा हालै प्रकाशित एक प्रतिवेदनका अनुसार आइभोरी कोस्टमा पनि वर्षाको अभाव र चर्को घामले अप्रिलदेखि सेप्टेम्बरसम्म फल्ने कोकोलाई क्षति पुर्याउन सक्छ।
कोको खेती विशेष गरी भूमध्यरेखादेखि २० डिग्री उत्तर र दक्षिण अक्षांशबीचको क्षेत्रमा मात्र गरिन्छ। त्यसमा पनि पश्चिम अफ्रिकाका छिमेकी राष्ट्र घाना र आइभोरी कोस्टमा विश्वको लगभग ६० प्रतिशत कोको उत्पादन हुन्छ। चालु सिजनमा भने यी दुई देशले ५३ प्रतिशत कोको उत्पादन गर्ने आकलन छ।
कोकोका रूखहरूलाई जलवायु परिवर्तनले सजिलै र चाँडै असर गर्छ। जलवायु परिवर्तन र भारी वर्षा, बाढी, सुख्खा मौसममा तेज हावा चल्ने जस्ता मौसमको अनिश्चित स्वरूपका कारण पनि हालैका वर्षहरूमा कोको उत्पादनमा कमी आएको हो।
गत वर्षको डिसेम्बरमा एल निन्योको प्रभावका कारण घाना र आइभोरी कोस्टमा अत्यधिक गर्मी र वर्षा भयो। त्यस बेला पश्चिम अफ्रिकामा सो अवधिको ३० वर्षको औसतभन्दा दोब्बर पानी पर्यो। वर्षा र ओसिलो वातावरणमा 'ब्ल्याक पड' र 'स्वोलन शूट भाइरस' जस्ता कोकोका लागि घातक रोगले घाना र आइभोरी कोस्टमा फैलिने मौका पाए। ब्ल्याक पड रोगका कारण कोकोका दाना रूखमै कुहिन्छन् भने स्वोलन शूट भाइरसबाट संक्रमित भएपछि सुरूमा उत्पादनमा ह्रास आउँछ र अन्तत: रूख नै मर्छन्।
ट्रपिकल रिसर्च सर्भिसेस नामक शोध कम्पनीका एक कोको विज्ञका अनुसार स्वोलन शूट भाइरसबाट आइभोरी कोस्टका लगभग ३० प्रतिशत कोकोका रूखहरू संक्रमित छन्। त्यस्तै, घानाको कोको मार्केटिङ बोर्ड कोकोबडले सन् २०१८ देखि २०२४ फेब्रुअरीसम्म घानामा हाल कुल १३ लाख ८० हजार हेक्टर क्षेत्रफलमा भइरहेको कोको खेतीमध्ये ५ लाख ९० हजार हेक्टर उक्त भाइरसले सखाप पारेको जनाएको छ।
गत जुनदेखि सक्रिय रहेको शक्तिशाली एल निन्योका कारण यो वर्ष फेब्रुअरीदेखि सुरू भएको अत्यधिक गर्मी र खडेरीले पनि पश्चिम अफ्रिकामा कोको उत्पादन घटाएको छ।
एल निन्यो एउटा जलवायु प्रणाली हो जुन सक्रिय हुँदा पूर्वी प्रशान्त महासागरको तापक्रम सरदरभन्दा बढी हुन्छ र यसको असर विश्वका विभिन्न भागमा पर्छ। एल निन्योले निम्त्याएको खडेरीले थाइल्यान्ड र भारतमा धान खेतीलाई असर पुर्याएको छ भने भारी वर्षाका कारण विश्वकै ठूलो चिनी निर्यातक ब्राजिलको चिनी निर्यात समेत प्रभावित भएको छ।
शोधकर्ताहरूका अनुसार जलवायु परिवर्तनका कारण आउँदा दशकहरूमा पश्चिम अफ्रिकामा कोको उत्पादन गर्न झनै गाह्रो हुन सक्छ। एक अध्ययनले त सन् २०५० को दशकसम्म आइभोरी कोस्टमा कोको खेतीका लागि उपयुक्त क्षेत्र ५० प्रतिशतभन्दा बढी खुम्चिने देखाएको छ।
पश्चिम अफ्रिकामा अन्दाजी २० लाख साना किसान कोको खेतीमा संलग्न छन्। जलवायु परिवर्तनका कारण ठूलो क्षति बेहोरिरहेका यी किसानका लागि अवैध सुन खानी टाउको दुखाइको अर्को विषय बनेको छ।
अनियन्त्रित रूपमा सञ्चालित अवैध सुन खानीका कारण घानामा कोको खेती भइरहेका जमिन मरूभूमिमा परिणत भइरहेका छन्। अवैध सुन खानी सञ्चालन गरेर छाडिएको जमिन विषाक्त रसायनले दूषित हुने हुँदा खेतीयोग्य नै रहँदैन।
घाना कोको बोर्डले जनवरीमा निकालेको एक प्रतिवेदनले घानाबाट आइभोरी कोस्ट र टोगो लगायतका छिमेकी राष्ट्रमा अनियन्त्रित रूपमा भइरहेको कोको दानाको अवैध तस्करीलाई पनि घट्दो आपूर्तिको एक प्रमुख कारणका रूपमा औंल्याएको छ।
बढ्दो माग र घट्दो आपूर्तिका कारण विश्व बजारमा कोकोको मूल्य अकासिए पनि घाना र आइभोरी कोस्टका किसानहरू विरलै मात्र त्यसबाट लाभान्वित हुन पाउँछन्। किनभने यी दुई देशका सरकारले अघिल्लो वर्षको बिक्रीका आधारमा पहिल्यै किसानलाई दिने मूल्य तय गर्ने गर्छन् र यो थोक मूल्यभन्दा निकै कम हुने गर्छ। कर्पोरेट अकाउन्टेबिलिटी ल्याब नामक एक गैरनाफामूलक समूहका अनुसार हाल कोकोको थोक मूल्य घानाका किसानले पाउने मूल्यको अढाई गुणा छ।
कोकोबाट प्राप्त आम्दानी यी किसानहरूका लागि गुजारा चलाउन मात्र पर्याप्त हुन्छ। उनीहरूले न त कोकोका रुखहरूलाई रोग, कीरा र खराब मौसमबाट जोगाउन महँगो हुँदै गएका मल र विषादी यथेष्ट मात्रामा किन्न सक्छन्, न नयाँ खेती नै लगाउन सक्छन्। रोयटर्सका अनुसार आइभोरी कोस्टमा त पछिल्ला २५ वर्षमा नयाँ कोको खेती नै लगाइएको छैन।
मंगलबार आइभोरी कोस्टले अप्रिलदेखि सेप्टेम्बरसम्म फल्ने कोकोको मूल्य ५० प्रतिशत बढायो भने त्यसको भोलिपल्ट घानाले पनि किसानलाई दिने मूल्य ५० प्रतिशतसम्म बढाउने घोषणा गर्यो। रोयटर्सले एक कोको निर्यातकलाई उद्धृत गर्दै यो मूल्य वृद्धिको आगामी वर्षको मूल्यसँग कुनै सम्बन्ध नरहेको बताएको छ।
घाना र आइभोरी कोस्टका किसान यी सबै समस्याहरूसँग जुधिरहँदा कोकोको मूल्यवृद्धिले अरू राष्ट्र, विशेष गरी ल्याटिन अमेरिकाका लागि अवसरको ढोका खोल्न सक्छ। समाचार संस्था ब्लूमबर्गका अनुसार ब्राजिल र क्यामरून सन् २०३० सम्म उत्पादन दोब्बर बनाउने प्रयासमा छन् भने इक्वेडरले ८ लाख टन उत्पादन गर्ने लक्ष्य राखेको छ। विज्ञहरूले सन् २०२७ सम्म इक्वेडर घानालाई पछि पार्दै कोको उत्पादनमा विश्वकै दोस्रो ठूलो राष्ट्र बन्ने भनेका छन्।
तर कोकोका नयाँ रूखले फल दिन कमसेकम ३ वर्ष लाग्ने हुनाले अभावको परिपूर्ति गर्न समय लाग्नेछ।
कोकोको मूल्य वृद्धिको असर चकलेट कम्पनी र तिनीहरूका उत्पादनमा पनि देखिन थालिसकेको छ। अमेरिकी कम्पनी 'मार्स' ले आफ्ना चकलेटको आकार घटाएको छ। केहीले आफ्ना चकलेटमा कम कोको प्रयोग गर्न थालेका छन्। 'नेस्ले', 'हर्शी' र 'मोन्डलिज' लगायत कम्पनीले आफ्ना उत्पादनको मूल्य बढाएका छन्।
कोको विज्ञ र विश्लेषकहरूका अनुसार चकलेट उत्पादकहरूले कोको दाना अग्रिम रूपमा किन्ने भएकाले अहिले अकासिएको भाउको वास्तविक असर उपभोक्तामा केही समयपछि मात्रै देखिनेछ।
चकलेट कम्पनीहरू कोको उत्पादन फेरि कहिले बढ्छ भन्ने निश्चित नभएकाले यो वर्ष चकलेटको मूल्य अझै बढ्ने बताउँछन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)