मंगलबार भएको प्रदर्शन क्रममा विभिन्न समूहले निजी लगानीका उद्योग, कलकारखाना र उद्योगी–व्यवसायीका घरमा ठूलो क्षति पुर्याएका छन्। घर तथा उद्योगमा क्षति पुर्याउनुका साथै आगजनी र लुटपाट पनि भएको छ।
हामीले केही उद्योगी तथा उनीहरूका प्रतिनिधिहरूसँग कुराकानी गरेका छौं।
उनीहरूले आफूहरू सुरक्षित रहेको बताउँदै देशमा जतिसक्दो चाँडो शान्ति स्थापना गर्न आवश्यक रहेको बताएका छन्।
चौधरी ग्रुपका एक प्रतिनिधिका अनुसार चौधरी ग्रुपमा ठूलो क्षति भएको छ।
नेपालका एक मात्र डलर अर्बपति उद्योगी विनोद चौधरीको कार्यालयसँगै निजी निवासमा तोडफोड, आगजनी र लुटपाट भएको छ।
'तीन/चार वटा गाडी जलेका छन्। घरमा आगो लगाइएको छ। भित्रका सबै सामान लुटपाट भएको छ,' चौधरी ग्रुपका ती प्रतिनिधिले भने।
त्यसैगरी, चौधरी ग्रुपको मुख्य कार्यालय पनि तोडफोड भएको छ।
चौधरी ग्रुपको सतुंगलस्थित उद्योगमा आगजनी भएको छ। आगलागी बुधबार दिउँसोसम्म पनि नियन्त्रणमा आउन सकेको छैन। यस्तै, समूहको भैरहवामा रहेको उद्योगमा पनि लुटपाट भएको छ।
चन्द्र ढकालको आइएमई समूहले लगानी गरेको चन्द्रागिरि केबलकार र मौलाकाली केबलकारको तल्लो स्टेसनमा आगजनी तथा तोडफोड भएको छ।
ढकालले आफू र आफ्नो परिवार सुरक्षित रहेको बताएका छन्।
'भ्रामक सूचनाको कारण चन्द्रागिरि र मौलाकालीमा तोडफोड भएछ, यो राम्रो भएन,' ढकालले भने, 'धेरै उद्योगी, व्यवसायी अहिले त्रासमा छन्।'
उनले अब के गर्ने र कसरी अगाडि बढ्ने भन्ने सवालमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा प्रतिष्ठित व्यवसायीसँग संवाद गर्न थालेको बताए।
त्यस्तै, उद्योगी शेखर गोल्छाको घरमा पनि तोडफोड तथा आगजनी गरिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष समेत रहेका गोल्छाको परिवार सुरक्षित रहेको जानकारी गराइएको छ।
'हामी ठीक छौं, अब बाहिरी वातावरण शान्त बनाउनुपर्छ,' गोल्छाले भने।
व्यवसायी मीनबहादुर गुरूङको लगानी रहेको भाटभटेनी सुपरस्टोरका विभिन्न शाखामा ठूलो क्षति पुर्याइएको छ।
नक्साल, कोटेश्वर, र भक्तपुरको राधेराधेमा रहेको भाटभटेनीमा तोडफोडका साथै लुटपाट पनि भएको छ।
एनसेलले पनि आफ्नो भवनमा क्षति पुगेको बताएको छ।
'हाम्रो प्रशासनिक अफिसमा ठूलो क्षति छ। अहिले हामी सबै घरबाटै काम गरिरहेका छौं,' एनसेलका एक प्रतिनिधिले भने।
काठमाडौं नक्सालस्थित हिल्टन होटलमा पनि आगजनी भएको छ। यहाँको आगो अझै नियन्त्रणमा आएको छैन। यहाँको आगलागीले नजिकका अन्य घरहरूमा पनि आगो सल्किने खतरा बढेको छ।
८ अर्ब रूपैयाँभन्दा बढी लागतमा शंकर ग्रुपले बनाएको यो होटल गत साल साउनदेखि सञ्चालनमा आएको थियो।