भदौ २४ गते विभिन्न समूहले गरेको आगजानी, तोडफोड र लुटपाटका कारण नेपालको विश्व व्यापार प्रभावित बन्यो। भन्सार विभागले क्षतिको यकिन विवरण अझै निकालेको छैन।
दुई दिन ठप्पप्रायः भएको आयात निर्यात क्रमशः सुरु हुन थालेको छ। सुरक्षा व्यवस्था मजबुत बनाउने प्रतिबद्धतासँगै केही नाकाहरूमा अत्यावश्यक वस्तुको ढुवानी पुनः सुरु भएको भन्सार विभागले जनाएको छ।
केही भन्सार कार्यालय तथा गोदामहरूमा आगजनीले ठूलो क्षति पुगे पनि कामहरू अघि बढिरहेका छन्। भन्सार विभागका महानिर्देशक श्याम भण्डारीका अनुसार, नाकाहरूमा प्रशासनिक भवन र गोदामहरू जलेपछि केही समस्या देखिए पनि बिस्तारै कामहरू क्रमशः सुरू हुँदै छन्।
'गोदामहरू लुटपाट भएका छन् र आगजनी भएको अवस्था छ। असहज अवस्था त भयो नै, तर अहिले काम पूर्ण रूपमा रोकिएको छैन। पेट्रोलियम पदार्थ, ग्यास र औषधिलाई प्राथमिकताका साथ पास गराइएको छ,' उनले भने।
यद्यपि, लुटपाट र आगजनीका कारण व्यवसायीहरूमा अझै त्रास देखिएको भन्सार अधिकारीहरूले बताएका छन्।
बिहीबार तयारी अवस्थामा रहेका सामानहरूको जाँच र ढुवानी सुचारु गर्ने काम आवश्यकता अनुसार भइरहेको छ।
'काम चलिरहेको छ तर सहज रूपमा सञ्चालन भएको छै,' भण्डारीले भने।
आन्दोलनका कारण भैरहवा लगायतका भारतसँग जोडिएका सीमा नाकाहरूमा बढी समस्या देखिएको छ।
वीरगञ्ज भन्सार कार्यालय
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार, केही दिनको तुलनामा आज काममा उल्लेखनीय सुधार आएको छ।
'हिजो र अस्ति सीमा नाकामा कुनै काम हुन सकेन,' उनले भने, 'सुरक्षा व्यवस्थामा सुधार आएपछि भने काम सुरू गरिएको छ।
बिहीबार मात्रै ४४ वटा पेट्रोल ट्यांकर र ४० वटा बुलेट ट्यांकर गन्तव्यतर्फ पठाइएको उनले बताए। यसबाहेक, एउटा औषधिको गाडी पनि पास गराइएको छ।
ज्ञवालीले भने, 'आजमात्रै १० करोड बराबरको सामान भारततर्फ पठाइएको छ।'
उनले अहिलेको समस्याको मुख्य कारण नेपालतर्फको सुरक्षा अवस्था नै रहेको बताए। भारततर्फबाट सामानहरू भन्सार परिसरमा आइसकेका छन्।
ज्ञवालीले बताएअनुसार, सुरक्षा निकायहरू (नेपाली सेना, जिल्ला अधिकारी, सशस्त्र प्रहरी र जनपद प्रहरी) सँग छलफल भएपछि उनीहरूले सुरक्षा दिने आश्वासन दिएका छन्।
बिहीबार मात्रै झन्डै ८० वटा रित्ता गाडीहरू नेपालबाट भारत गएका छन्। ज्ञवालीले नाकाका कुनै पनि भवनमा क्षति नपुगेको जानकारी दिए।
भैरहवा भन्सार कार्यालय
भैरहवा भन्सार कार्यालयका निर्देशक नरेन्द्र चौधरीका अनुसार यस नाकामा आगजनीले ठूलो क्षति पुर्याएको छ।
'मुख्य भवन र यात्रु शाखा पनि आगजनीले पूर्ण रूपमा ध्वस्त भएका छन्,' उनले भने, 'यसले गर्दा कर्मचारीहरूलाई काम गर्नका लागि बस्ने ठाउँको समस्या भएको छ। यद्यपि, बिहीबार केही काम सुरू गरिएको छ।'
अत्यावश्यक तरकारी र फलफूल बोकेका १५-२० वटा गाडीहरू भन्सार परिसर भित्र आएका छन्। जसलाई नेपाल आर्मीसँगको समन्वयमा गन्तव्यमा पठाइन थालेको छ।
चौधरीका अनुसार, कर्फ्यूका कारण व्यापारीहरू र भारतीय ड्राइभरहरू नेपाल जान नमान्दा आयातमा समस्या सिर्जना भएको थियो। मुख्य सर्भरहरू जले पनि अनलाइन माध्यमबाट कामहरू भइरहेका छन्। 'कार्यालयलाई पूर्ण रूपमा सञ्चालन गर्न भने केही अफ्ठ्यारो छ,' चौधरीले भने।
उनले अस्थायी व्यवस्था गरेर काम गर्ने प्रयास गरेको बताए। कर्फ्यू खुल्दा र अवस्था सामान्य भएपछि जासपासमा समस्या नपर्ने उनको भनाइ छ।
चीनसँग जोडिएका नाकाहरू
यता, प्राकृतिक प्रकोप तथा बाढी पहिरोको कारण चीनसँग जोडिएका नाकाहरूमा पनि समस्या देखिएको छ। चीनसँग विशेषगरी तातोपानी, रसुवा र कोराला नाका सञ्चालनमा रहे पनि अहिले रसुवा नाका ठप्प छ।
तातोपानी र कोरला नाका पनि पूर्ण रूपमा चलेका छैनन्। तातोपानी नाका पहिरोले बाटो अवरुद्ध भएपछि अहिले भरियामार्फत सामानहरू बोकाएर ल्याउन सुरु गरिएको भण्डारीले बताए। पहिरोको कारण तातोपानी नाका पहिलेको जस्तो सहज छैन।
त्यस्तै, कोरोला नाका पनि खोलिएको छ। भण्डारीका अनुसार बिहीबार मात्रै दुइटा ढुवानी गाडी आएका छन्।
देशभरका भन्सार नाकाहरूमा फरक-फरक चुनौती भए पनि अधिकारीहरू र सुरक्षा निकायको सक्रियताले अत्यावश्यक वस्तुको आपूर्तिलाई सहज बनाउने प्रयास गरिएको भन्सार अधिकारीहरूले बताएका छन्।