पेट्रोलियम अन्वेषणका लागि 'ड्रिलिङ' गर्न आवश्यक उपकरण सुर्खेत पुगेको छ।
बिहान करिब ८ बजेतिर उपकरण बोकेको तीन वटा ट्रक सुर्खेत पुगेको पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश कुमार नापितले जानकारी दिए।
'नेपालगञ्जबाट हिजो साँझ ६ बजेतिर ट्रक हिडेको थियो,' उनले भने, 'आज बिहान ८ बजेतिर उक्त ट्रक सुर्खेत पुग्यो भन्ने जानकारी पाएको छु।'
उनका अनुसार ड्रिलिङका लागि आवश्यक उपकरण बोक्ने ट्रक एक सयदेखि एक सय ५० वटा छन्। ती ट्रक एक महिनाभित्र सुर्खेत पुग्ने अनुमान गरिएको छ।
'अब हामीलाई केही समस्या छैन। उपकरण लगेर ड्रिलिङ गर्न मात्रै बाँकी हो,' उनले भने 'सकेसम्म एक महिनाभित्रै सबै उपकरण पुर्याएर ड्रिलिङको काम सुरू गर्ने योजना छ।'
अहिले बाँकी सामान नेपालगञ्ज सुख्खा बन्दरगाहमा सुरक्षित राखिएको उनले जानकारी दिए।
अन्तिम चरणको अन्वेषणको लागि चार किलोमिटर ड्रिलिङ गर्नुपर्ने भएकाले उपकरणहरू ल्याइएको हो।
दैलेखको पादुकास्थानमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्ने गरी चिनियाँ सरकारसँग सन् २०१९, फेब्रुअरी २८ मा सम्झौता भएको थियो।
चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पेट्रोलियम अनुसन्धानको काम कोभिड अघि नै सुरू भएको हो।
सुरूआतमा तीन वर्षभित्र तीन चरणमा काम सक्ने गरी सम्झौता भएको थियो।
कहिले कोभिड त कहिले सरकारी प्रक्रियाका कारण अनुसन्धानले अन्तिम रूप पाउन भने सकेको छैन। अब भने यसले निरन्तरता पाउने देखिएको छ।