प्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेला–२०८०’ मा १० हजारभन्दा बढीले अवलोकन गरेका छन्।
नेपाल जुत्ताचप्पल उद्यमी समूहको आयोजनामा गत माघ १८ गतेदेखि सुरू भएको जुत्ताचप्पल व्यापार मेलामा फागुन १ गतेसम्म १० हजारभन्दा बढीले अवलोकन गरेको नेपाल जुत्ताचप्पल उद्योग संघका वरिष्ठ उपाध्यक्ष एवम् जुत्ताचप्पल उद्यमी सुरज बन्जाडेले जानकारी दिए।
मेलामा हालसम्म एक करोड रूपैयाँभन्दा बढीको कारोबार भएको छ।
नेपाल जुत्ताचप्पल उत्पादक संघका अध्यक्ष रुद्रप्रसाद न्यौपानेले नेपालीले उत्पादनलाई उपभोक्तासम्म पुर्याउने उद्देश्यले चावहिलमा पहिलोपटक जुत्ताचप्पल मेला आयोजना गरिएको बताए।
जुत्ताचप्पल मेलामा नेपालका १४ उद्योगका ३० भन्दा धेरै ब्राण्ड र तीन हजारभन्दा धेरै डिजाइन राखिएको छ।
उक्त मेलामा हाइलाइफ, शु ल्याण्ड, बेली, बोश शुज, आइडल, भेनस, शिल्स, हिमानी, वन वल्र्ड, कोशेली, रनशुज, शिखर शुज, पिजी शुज र ब्याम्बो शुज राखिएका छन्।
समूहका अनुसार नेपाली जुत्ताचप्पल उद्योगको उत्पादन क्षमता वार्षिक १६ करोड जोर भए पनि बिक्री वितरण भने जम्मा ६ करोड मात्र हुने गरेको छ।
फागुन १८ गतेसम्म चल्ने मेलामा तीन करोड रूपैयाँ बराबरको जुत्ताचप्पल बिक्री हुने लक्ष्य राखिएको छ। मेलामा १५ देखि ५० प्रतिशतसम्म छुट दिइएको समूहले जनाएको छ।