भदौ २३ र २४ गतेको प्रर्दशनको क्रममा विभिन्न उद्योग, व्यवसायीहरूको व्यक्तिगत घर, उद्योग र सम्पत्तिमा आगजनी, तोडफोड भए।
चौधरी समूहको सतुंगलमा रहेको सिजी ल्याण्ड लगायतमा क्षति पुग्यो। तर, यो विध्वंसपछि पनि सिजी समूहले फेरि उदाउने आशा लिएको छ।
सिजी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरी भन्छन्, ‘इतिहासले यो विध्वंसलाई सम्झने छैन। तर हामी यस आगोबाट, यस विध्वंसबाट कसरी निस्क्यौं र अझ बलिया, अझ गौरवपूर्ण भएर कसरी आयौं इतिहासले सम्झनेछ।’
निर्वाण चौधरीको फेसबुक स्ट्याटसबाट
पछिल्ला केही दिन हाम्रो कम्पनीको इतिहासकै सबैभन्दा पीडादायी क्षण बन्न पुग्यो। युवाहरूले जवाफदेहिता र परिवर्तनको माग अघि सारेर सुरू गरेको आन्दोलन दंगा गर्ने र बाह्य शक्तिहरूले कब्जा गरेर तोडमोड गराइदिए।
शान्तिपूर्ण रूपमा राम्रो नेपालका लागि गरिएको आवाज हिंसा, लुटपाट र विनाशमा परिणत भयो। हामीले अकल्पनीय क्रूरता देख्यौं। हाम्रो अध्यक्षलाई निशाना बनाइयो। हाम्रा घर आक्रमणमा परे र जलाइए। हाम्रो कारखाना र कार्यालयहरू क्षतिग्रस्त भए र हाम्रो शो-रूमहरू लुटिए।
दशकौंको मेहनत, त्याग र समर्पण-केही घण्टामै खरानीमा परिणत गराइयो। यो केवल सम्पत्तिमाथि आक्रमण थिएन। यो हाम्रो आशा, विश्वास, र राष्ट्रका लागि केही सार्थक निर्माण गर्ने विचारको आक्रमण थियो।
यी नै अन्धकारमय घडीमा पनि केही असाधारण भयो। आगो र अराजकताबीच पनि हाम्रा प्रबन्धकहरू र कर्मचारीहरूले आफ्नै सुरक्षालाई जोखिममा राखेर पनि दिन रात काम गर्दै, सक्दो जोगाउँदै, आफ्ना संरचना बचाउने प्रयास गर्नुभयो।
हामीप्रति ग्राहकमा रहेको विश्वास बचाइराख्ने जुन प्रयास गर्नुभयो, त्यो नै सबैभन्दा महत्वपूर्ण हो। आगो दन्किरहँदा पनि हाम्रा साथीहरूले हार मान्नु भएन।

सबै कुराहरू भत्किँदा पनि दृढ भएर उभिएका तपाईंहरू प्रत्येकलाई म सलाम गर्छु। तपाईंहरूले संसारलाई देखाउनुभयो कि सिजी केवल कम्पनी होइन यो दृढता, निष्ठा र साहसले बाँधिएको परिवार हो। तपाईंहरूकै कारण विनाशको बाबजुद पनि हाम्रा ग्राहकहरू हामीसँगै रहने अवस्था बनेको छ।
तपाईंहरूकै कारण आशा अझै जीवित छ। जब समय उचित हुनेछ, हामी तपाईंहरूको सेवा, त्याग र सामर्थ्यलाई एक साथ आएर सम्मान गर्नेछौं उत्सवको रूपमा मनाउनेछौं।
हो, हामी घाइते छौं। हामी भित्रैदेखि हल्लिएका छौं। तर हामी भाँचिएका छैनौं। ती अपराधीहरूले हाम्रा भवन जलाउन सक्छन्। तर, हाम्रा सपना जलाउन सक्दैनन्। उनीहरूले हाम्रा सोरुम लुट्न सक्छन तर हाम्रा मूल्य मान्यता लुट्न सक्दैनन्। उनीहरूले हामीलाई कमजोर पार्न खोज्न सक्छन, तर हाम्रो परिवारको एकता तोड्न सक्दैनन्।
हामीले पनि सम्झनै पर्छ कि हामी को हौं। चौधरी समूह नेपालकै सबैभन्दा ठूलो करदाता हो। सबैभन्दा ठूलो रोजगारी दिने संस्थामध्ये एक हो। राष्ट्र निर्माण गर्ने एउटा पक्ष हो। भूकम्प, बाढी वा महामारी हरेक संकटमा हामी आफ्ना जनताका लागि अग्रपंक्तिमा उभिएकाछौं। त्यो मिशन समाप्त भएको छैन। त्यो जिम्मेवारी हल्लिएको छैन। त्यो उद्देश्य हराएको छैन।
हामी फेरि निर्माण गर्नेछौं। हामी पुनः उठ्नेछौं। हामी अहिलेभन्दा बलियो भएर उदाउनेछौं। इतिहासले यो विध्वंसलाई सम्झने छैन। तर हामी यस आगोबाट, यस विध्वंसबाट कसरी निस्क्यौं र अझ बलिया, अझ गौरवपूर्ण भएर कसरी आयौं इतिहासले सम्झनेछ।
सिजी परिवारका प्रत्येक सदस्यलाई धन्यवाद। तपाईंहरू नै यस संस्थाको मुटु हुनुहुन्छ। सँगै, हामी केवल बाँच्छौं मात्र होइन-हामी उज्वल भविष्य निर्माण गर्ने छौं।