डेरी व्यवसायीहरूले खेलाडीहरूले खाने खानामा अनिवार्य दूध वा दूधजन्य पदार्थ समावेश गराइदिन खेलकुद मन्त्रालयलाई अनुरोध गरेका छन्।
दुग्ध पदार्थको खपत घटेका हुनाले खपत बढाउन खेलाडीहरूले खाने खानामा अनिवार्य दूधजन्य पदार्थ समावेश गराइदिन अनुरोध गरेका हुन्।
नेपाल डेरी एसोसिएसनका अनुसार दुग्ध पदार्थको माग न्यून हुँदा किसानलाई पशुपालन गर्न कठिन भएको छ। समयमा भुक्तानी नपाउँदा दैनिक जीवन अस्तव्यस्त हुनुका साथै गाई भैँसीलाई नियमित दाना पानीसमेत खुवाउन सकेको छैन।
सामान मौज्दात भएर चालु पुँजी नभएका कारण डेरी उद्योगमा आर्थिक समस्या उत्पन्न भएको एसोसिएसनको भनाइ छ।
कोसेलीको रूपमा पनि दुग्ध पदार्थनै उपयोग गर्न सके यसको खपत बढ्ने एसोसिएसनको बुझाइ छ।
व्यवसायीहरूका अनुसार विगत वर्षहरूमा फागुनदेखि डेरी क्षेत्रमा सिजन सुरू हुन्थ्यो। यस वर्ष भने त्यसको ठिक विपरीत दूध तथा दुग्ध पदार्थको माग घटेको छ।