एक दशकअघि साइकल गुडाउँदै अरुका लागि दूध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका शिवचरण रानाले कुनै दिन आफैं डेरीको मालिक बन्छु भन्ने कल्पनासम्म गरेका थिएनन्।
गाउँमा जम्मा भएको दूध डेरीमा पुर्याइदिन्थे। त्यसबापत आउने पारिश्रमिकबाट केही रकम जम्मा गर्थे।
त्यसरी जम्मा गरेको पैसा लगानी गरेर शिवचरण अहिले आफैं डेरीको मालिका बनेका छन्।
‘आफ्नो बचतले नपुग्ने भएपछि केही रकम ऋण लिएँ र डेरी खोलेँ,’ उनले भने। डेरी खोल्न ४५ लाख रूपैयाँ लगानी गरेको उनी बताउँछन्।
अहिले उनी गाउँगाउँबाट दूध सङ्कलन गरेर दुग्ध विकास संस्थानको धनगढी संकलन केन्द्रमा पुर्याउँछन्। दूध सङ्कलनका लागि उनले संस्थानसँग सम्झौता गरेका छन्। दूध बोक्नका लागि रानाले ६ जना कामदार समेत राखेका छन्।
‘सबै जनाका लागि मोटरसाइकल खरिद गरिदिएको छु। दैनिक १ हजार ४ सय लिटर दूध मोटरसाइकलमा क्यान राखेर कामदारले गाउँगाउँ पुगेर संकलन गर्छन्,’ रानाले भने।
दूध बढी सङ्कलन भएका बेला डेरीसम्म ल्याउन एउटा पिकअप भ्यानसमेत किनेका छन्। मोटरसाइकल, भ्यान लगायतका साधन दूध डेरीबाट आएको आम्दानीले खरिद गरेको रानाले बताए।
बेरोजगार हुँदा डेढ दशकअघि उनी साइकलमा व्यापारीका लागि सामान ल्याइदिन्थे। त्यसबापत उनले ज्याला पाउँथे।
‘भारतबाट सामान ल्याउँदा हुने सास्ती बिर्सिनसक्नु थियो,’ उनले भने, ‘सीमा क्षेत्रमा भारतीय र नेपाली प्रहरीदेखि अन्य धेरै हैरानी दिन्थे। पछि त्यो काम छोडेर दूध बोक्ने काममा लागेँ।’
उनले आफन्तीको सल्लाहमा दूध बोक्न सुरू गरेका थिए। पहिलोपटक गाउँबाट ४ लिटर दूध बोकेको उनी अझै सम्झन्छन्।
‘विस्तारै दूध बढी सङ्कलन हुन थाल्यो। महिनामा २५ हजार जति कमाइ हुन थाल्यो,’ उनले भने, ‘त्यसपछि मोटरसाइकल किनेँ, दूध डेरीमा आपूर्ति गर्न थालेँ।’
दूध सङ्कनल, भण्डारण र अन्य क्षेत्रमा आपूर्ति गर्न डेरी सञ्चालकबाटै सिकेको उनी बताउँछन्।
‘त्यसपछि केही रकम आफूसँगै थियो, केही कर्जा गरेर शान्ति दुग्ध सङ्कलन केन्द्र हुँदै डेरी खोलेँ,’ उनले भने। उनका अनुसार अहिले डेरीमा दैनिक एक हजार चार सय लिटरसम्म दूध संकलन हुन्छ।
महिनामा २७ लाख बराबरको दूधको कारोबार हुने गरेको रानाले जानकारी दिए।
‘सङ्कलन भएको दूधमध्ये आठ सय लिटर दूध संस्थानले खरिद गर्ने गरेको छ। अरु दूध गाउँमै खपत हुन्छ,’ उनले भने।
रानाले गाउँबाट दूध प्रतिलिटर ६६ रूपैयाँमा खरिद गरी संस्थानलाई सोही मूल्यमा बिक्री गर्छन्। संस्थानले ट्रान्सफर खर्च (टिएस) बापत प्रतिलिटर ३ रूपैयाँका भुक्तानी गर्छ। स्थानीयलाई भने रानाले सङ्कलन भएको दूध प्रतिलिटर ७० रूपैयाँमा बिक्री गर्ने बताए। महिनामा खर्च कटाएर ५० हजार बढी आम्दानी हुने उनले बताए।
कामदारलाई मासिक ज्यालामा एक लाख २५ हजार रूपैयाँ खर्च हुने रानाको भनाइ छ।
दूधकै कारोबार गरेर रानाले गाउँमै पाँच कोठाको पक्की घर बनाएका छन्। डेरीका लागि तीन वटा डिप फ्रिज, एक हजार र पाँच सय लिटर क्षमताका गरी दुई चिलिमभ्याट मेसिन खरिद गरेको उनले बताए। दूधबाट क्रिम निकाल्ने मिल्क सेप्रेटिङ मेसिन खरिदका लागि प्रक्रिया अगाडि बढाइएको उनको भनाइ थियो।
‘पूरै परिवारको खर्च डेरी व्यवसायबाट धानिएको छ,’ रानाले भने, ‘अहिले छोराले व्यवसायमा सहयोग गर्न थालेपछि कमाइ बढ्दै गएको छ,’ उनले भने।
दूधको व्यवसायबाट सन्तुष्ट भएको भन्दै उनले डेरीमा दूध सङ्कलन गरी बेच्ने काम मात्रै हुँदै आएकामा भविष्यमा डेरी प्रोडक्ट उत्पादन गरी बजार विस्तार गर्ने सोच रहेको बताए।
‘अरुका लागि साइकलमा दूध बोक्ने मैले डेरी सञ्चालन गरी प्रशस्त आम्दानी गर्छु भन्ने सोचेकै थिएन,’ रानाले भने, ‘काम गर्दै गए सफलता आफैँ हात चुम्न आइपुग्यो। अहिले दूधको व्यवसायी भनेर नगरपालिका क्षेत्रमा सबैले चिन्छन्, सम्मान गर्छन्।’