नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले सिजी होल्डिङ्सका अध्यक्ष अरूण चौधरीलाई हठात रूपमा पक्राउ गरेको बताएका छन्।
बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बिहीबार व्यापारी अरूण चौधरी र कारखानाको तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको छ।
चौधरी पक्राउ परेसँगै नेपाल उद्योग परिसंघ (सिएनआई)ले बिहीबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष अग्रवालले चौधरीलाई कुनै सूचना नदिई हठात् रूपमा पक्राउ गरेको बताएका हुन्।
उनले प्रहरीले पहिले अनुसन्धानमा समेत नबोलाएको बताएका छन्।
'उहाँ भागेर कहीँ जान थाल्नु भएको छैन। हठात् रूपमा पक्राउ गरियो,' उनले भने, 'यो प्रकरणले निजी क्षेत्रप्रति मानमर्दन गरेको महशुस भएको छ।'
उनले निजी क्षेत्रमाथि धरपकड गर्नु विरोधाभास भएको समेत बताएका छन्।
यसबाहेक संवैधानिक हकको समेत हनन् भएको आरोप लगाएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का अध्यक्ष गणेश कार्कीले यस घटनाले निजी क्षेत्रलाई आक्रमण गर्ने काम भएको बताएका छन्। उनले सरकारले जुनसुकै घटनालाई निष्पक्ष रूपमा हेरिनुपर्ने र समस्या भए निष्पक्ष रूपमै अनुसन्धान गरिनुपर्ने बताए।
'समस्या देखाएर धरपकड गर्दै जाने हो भने निजी क्षेत्रलाई काम गर्न समस्या हुन्छ,' उनले भने, 'सरकारले छिटो निराकरण गर्नुपर्छ। यसको असर अन्य क्षेत्रमा पनि देखिन्छ।'
नाडाका उपाध्यक्ष निराकर श्रेष्ठले व्यापारीहरूलाई बिनाकरण धरपकड गर्ने काम भइरहेको बताए। उनले सरकारले यस्तो गल्ती सच्याउनुपर्ने बताए।
व्यवसायी हरिभक्त शर्माले सरकारले पहिले थुन्ने अनि मात्रै सुन्ने काम गरेको भन्दै आपत्ति जनाए।
‘सरकार पहिले थुन्ने अनि सुन्ने काम गरेको छ। यसो गर्नु हुँदैन। हामी प्रक्रिया मिलेन भनेको हो। दोषी छ वा छैन भन्ने कुरा अदालतले भन्ने हो। पुलिसले आशंक लाग्यो भनेर अनुसन्धानको लागि भन्दै धरपकड गर्ने होइन। काम गरेर खाने वातवरण गराउ लगनाीलाई दुरूत्साहित नगर,’ उनले भने।
यस्तै नेपाल उद्योग वाणिज्य महासंघले पनि विज्ञप्ति जारी गर्दै उद्योगी व्यवसायीमाथि प्रहरीले धरपकड गरेको भन्दै आपत्ति जनाएको छ। प्रहरीले अनुसन्धान नगरी पक्राउ गरेको भन्दै व्यवसायीहरू निरूत्साहित भएको उक्त विज्ञप्तिमा उल्लेख छ।
‘महासंघले सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटकपटक आग्रह गर्दै आएको छ। पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यवसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘महासंघ यस विषयमा पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानुनी कारबाही अघि बढाउन सरकारलाई आग्रह गर्दछ।’