१६ बिघा जमिनमा फैलिएको बगैंचा यति बेला फूलले पहेँलपुर छ, मनमोहक छ। ढकमक्क फूलको यो बगैंचा हो ६० वर्षीय खेमराज शर्मा र उनका चार जना साथीहरूको।
खेमराजले ३५ वर्ष नेपाल कृषि अनुसन्धान परिषद (नार्क) मा सेवा गरे। यसअन्तर्गत उनले सल्यानको कपुरकोटस्थित अदुवा बाली अनुसन्धान परिषदमा २७ वर्ष बिताए। बागवानी पढेका उनले आफूलाई कृषिको अध्ययन–अनुसन्धानमै केन्द्रित गरेका थिए।
उनी एक वर्षअघि सेवानिवृत्त भए। लगत्तै उनले व्यावसायिक रूपमा फूल खेती थालिहाले। फूल खेतीमा उनलाई साथ दिएका छन् कपुरकोटका बुद्धिराज पौडेलले। बुद्धिराज खेमराजका हितैषी हुन्।
खेमराज सेवानिवृत्त भएपछि ३२ वर्षीय बुद्धिराजले पनि आइटी इञ्जिनियरबाट राजीनामा दिएका थिए। दुबै जना मिलेर तुलसीपुर उपमहानगरपालिका–८, दुधेनामा फलफूलको नर्सरी सुरू गरे।
यसपछि जोडिए ३६ वर्षीय रूपक बुढा, ४० वर्षीय द्रोण केसी र कपुरकोट गाउँपालिकाका पूर्वअध्यक्ष भीमबहादुर सेन।
अहिले फूल खेतीमा आफ्ना सपनाहरू उम्रिँदै, फुल्दै र फक्रिँदै गर्न थालेपछि पाँचै जना सहयात्री मख्ख छन्।
'वर्षभरि फूल र माला बेच्ने योजना छ हाम्रो,' खेमराजले भने।
उनीहरूले खेती गरेको जग्गा नेपाल संस्कृत विश्वविद्यालयको हो। वार्षिक १६ लाख रूपैयाँ तिर्ने शर्तमा ६ वर्षका लागि ३५ बिघा जग्गा भाडामा लिएका छन्। पाँच जनाको यो समूहभन्दा अघि नै उक्त जग्गा अर्को समूहले भाडामा लिएर 'नेचुरल एग्रो एन्ड नर्सरी' नामको कृषि फर्म चलाएको थियो। फर्म सुरू भएलगत्तै कोरोना महामारी फैलियो। त्यो समूहले योजनाअनुसार लाभ लिन सकेन। भाडामा लिएको आधा जग्गा खाली रह्यो।
'त्यही बाँझो जग्गामा मेरो नजर पर्यो,' कृषि प्राविधिक खेमराजले भने, 'यति ठूलो क्षेत्रफल एकै ठाउँमा पाउन अन्यत्र सम्भव थिएन।'
खेमराजको समूहले सबै जग्गा र 'नेचुरल एग्रो एन्ड नर्सरी' फर्म किने। अनि खेमराजको नेतृत्वमा सयपत्री, मखमली र गोदावरी फूल खेती सुरू भएको हो।
करिब १५ बिघामा चार प्रजातिका सयपत्री फूल ढकमक्क फुलेका छन्। यी चारै प्रजाति थाइल्यान्डमा विकास गरिएका हुन्। यसको बिउ काठमाडौंमा पाइन्छ। उनीहरूले काठमाडौंमै बिउ किनेर नर्सरी बनाएका हुन्।
'बगैंचामा हाल सयपत्रीका एक लाख १५ हजार बोट छन्। बिउ खरिद, नर्सरी, बिरूवा रोपाइ, गोडमेल, मल, सिँचाइ लगायतमा करिब ५० लाख रूपैयाँ खर्च भएको छ,' खेमराजले भने।
उक्त बगैंचाबाट अहिलेसम्म सात लाख रूपैयाँको माला र फूल बिक्री भएको छ। बगैंचामा आँप र केरा पनि छ। उनीहरूले दुई लाख रूपैयाँको आँप बेचेका छन्।
फूल टिपेपछि तोरी लगाउने तयारी छ। वर्षभरि नै फूल हुने गरी बगैंचा हुनेछ। फलफूलको नर्सरी बनाउने र चिनियाँ दुबो पनि लगाउने योजना छ।
'३६५ दिन नै फूल उपलब्ध गराउने र दाङलाई फूल उत्पादनमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य छ,' खेमराज भन्छन्, 'अफ सिजनमा नेपालभर फूल पठाउने लक्ष्यअनुसार काम भइरहेको छ।'
यसपालिको तिहारमा कम्तीमा तीन सय क्वीन्टल फूल बेच्ने लक्ष्य छ। फूलको मुख्य सिजन तिहार मानिए पनि धार्मिक समारोह, पूजा आरधना, विभिन्न संघसंस्थाका कार्यक्रम, राजनीतिक कार्यक्रममा फूल र मालाको माग हुन्छ।
सात महिनाको अवधि विश्लेषण गर्दा फूल र माला सहकारीहरूका साधारणसभा तथा विद्यालयका स्वागत र बिदाइ कार्यक्रममा बढी खपत हुने देखिएको खेमराजको भनाइ छ।
किन्नका लागि 'नेचुरल एग्रो एन्ड नर्सरी' र 'मेरो दाङ' नामका पेजबाट अनलाइन अर्डर गर्ने सुविधा पनि छ। टाढाका थोक खरिदकर्ताले अनलाइन भुक्तानी गर्छन्। डेलीभरी नर्सरीले नै गरिदिन्छ।
तिहारका लागि कात्तिक दोस्रो साता नबित्दै बुटवल, नेपालगञ्ज, सुर्खेत, कोहलपुर र सल्यानबाट गरी कुल ६० क्वीन्टल फूल अर्डर भइसकेको छ। स्थानीय उपभोक्ताका लागि तिहारमा तुलसीपुर बजार, हेमन्तपुर र दुधेनामा स्टल राखेर फूल र माला बेच्ने तयारी पनि छ।
तोरी, मकै वा अरू अन्न बालीको तुलनामा फूल खेतीबाट दस गुणा बढी लाभ सकिने खेमराज बताउँछन्।
'एक कट्ठा जमिनमा राम्ररी फूल खेती गर्दा किसानले सिजनमा एक लाख रूपैयाँसम्म फाइदा लिन सक्छ। तोरी वा मकैबाट त्यति फाइदा कल्पनै गर्न सकिँदैन,' उनले भने।
खेमराज टिम बनाएर फूल खेतीमा लाग्नुको अर्को खास कारण पनि छ।
पहिलेपहिले तिहारमा मात्र फूल र मालाको खोजी हुन्थ्यो। केही वर्षयता वर्षैभरि माग छ। सामाजिक, राजनीतिक र संघसंस्थाका हरेक कार्यक्रममा फूल र माला अनिवार्यझैं भएको छ।
'यस्ता कार्यक्रममा प्रयोग हुने धेरै फूल भारतबाट आउँछ। नेपालमै उत्पादन गरेर आयात रोक्न सकिन्छ। स्वरोजगारी र रोजगारी पनि सिर्जना हुन्छ,' उनले भने।
नेचुरल एग्रो एन्ड नर्सरीले प्लास्टिकको छाप्रो हालेर मल्चिङ विधिबाट फूल खेती गरेको छ। खेतीनजिकै एउटा खोला छ। त्यसबाट सिँचाइका लागि भर्षभरि पानी उपलब्ध हुन्छ।
'सयपत्री फूल खेतीका लागि दाङ जिल्ला उपयुक्त ठाउँ हो। पानी नजम्ने र सिँचाइ हुने ठाउँ चाहिन्छ। दाङमा यस्तो जमिन धेरै छ,' उनले भने।
नर्सरीमा मासिक पारिश्रमिक पाउने गरी पाँच जना श्रमिक छन्। यीबाहेक ज्यालामा दैनिक सरदर २० जनाले काम गर्छन्। बिरूवा रोप्ने र फूल टिप्ने समयमा दैनिक ६० जनासम्मले काम गर्छन्।
दाङका तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाले तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक लगाएका छन्। यसकारण पनि फूल खेती फस्टाएको छ।
तुलसीपुर र घोराहीका अन्य केही किसानले पनि फूल खेती गरेका छन्। केही विद्यालयमा विद्यार्थीहरूले समेत सयपत्री फूल खेती गरेका छन्।
कृषि ज्ञान केन्द्र, दाङकी अधिकृत देवा महराका अनुसार जिल्लामा हाल २४ बिघा क्षेत्रफलमा व्यावसायिक फूल खेती भइरहेको अभिलेख छ। कार्यालयको अभिलेखभन्दा बढी क्षेत्रफलमा खेती भइरहेको उनको अनुमान छ।