सहरको दैनिक व्यस्तताबाट कहिलेकाहीँ प्रकृतिमा रमाउने इच्छा हुन्छ। अझ परिवार, आफन्त, साथीसंगीसँग बसेर मीठा परिकार खाँदै बस्न पाए! घर-बजारले साँघुरो भइसकेको काठमाडौंमा नजिकै हरियाली, खानपिन र मनोरञ्जन गर्ने भेट्ने पो कता होला!
यस्तै सोच्दै हुनुहुन्छ भने तपाईंको गन्तव्य हुन सक्छ बौद्धको 'लभी गार्डेन।'
चाबहिल चुच्चेपाटीबाट महांकाल हुँदै करिब दुई किलोमिटर पार गरेपछि सडकको बायाँतर्फ छ लभी गार्डेन। यसकै दायाँतिर छ 'लभी रेसिडेन्स'।
खाने र बास बस्ने सुविधा भएको लभीमा हरियालीले पाहुनाको स्वागत गर्छ। बाँसघारी र अरू रूखबिरूवाले घेरिएको बीच भागमा होटल छ। होटलबाहिर आकर्षक बगैंचा छ। बगैंचामै सजाएर टेबलकुर्ची राखिएको छ।
यसैलाई सुदर्शन पौडेलले 'लभी गार्डेन' नाम दिएका हुन्।
'यहाँ पहिले बाँसघारी थियो। बीच भागको बाँस निकालेर चारैतिरबाट बाँसले नै बेरेर टावर बनायौं,' होटल सञ्चालक सुदर्शनले भने।
उनका अनुसार यो टावर जन्मदिन, बेबी-सावरजस्ता उत्सव मनाउन र पारिवारिकसँगै साथीसंगी जमघटको केन्द्रजस्तै बनेको छ। एकतले टावरबाट काठमाडौंका विभिन्न ठाउँ देख्न सकिन्छ। बगैंचामा चराको चिरबिर सुनिन्छ। लाइभ म्युजिकको व्यवस्था पनि छ। रातको समय बत्तीको झिलिमिलीसँगै संगीतले मनोरञ्जन थपिदिन्छ।

हरेक दिन लभी भरिभराउ हुन्छ, दैनिक दुई सयभन्दा बढी मानिस यहाँ पुग्छन्। शनिबार त हजार हाराहारीमै हुने सुदर्शनले बताए। बगैंचाले मात्र होइन, अर्गानिक खानाको परिकारले पनि पाहुना लोभ्याएको उनी बताउँछन्।
'लभीको सजावटसँगै यहाँ पाइने परिकार पनि प्राकृतिक छ। अन्तभन्दा फरक स्वादका र अर्गानिक परिकार पस्किन्छौं,' सुदर्शनले भने, 'अहिले मलाई लभीलाई सहरका बासिन्दाले पर्खेका रहेछन् भन्ने लागिरहेको छ।'
यहाँको मेनुमा चटपटे, पानीपुरीदेखि बिरयानीसम्मका सयभन्दा धेरै परिकार छन्। सबभन्दा रूचाइएको भने बिरयानी, दूध मलाई केक, पिज्जा र चिकेन हो। यहाँको दूध मलाई केक विशेष भएको उनले बताए।
'दूध मलाई केक खानकै काठमाडौंबाहिरका समेत पाहुना आउनुहुन्छ,' उनले सुनाए, 'कतिपय त बाहिरबाट जहाजमा आएर यही खाएर पनि फर्किनुभएको छ।'
लभीले पस्किने केही परिकारको नाम पनि विशेष छ। 'चिकेन टकाटक', 'चिकेन खानदानी', 'चिकेन यमराज' उदाहरण हुन्।
चिकेन टकाटक पिरो, अमिलो र गुलियो मिसाएर बनाइन्छ। सबैकुरा ट्वाक्क जिब्रोमा झुन्डिने भएकाले नाममा टकाटक जोडेको उनले बताए। त्यस्तै चिकेन खानदानी काजु, मगज, घिउ राखेर बनाइन्छ। चिकेन यमराज भने अकबरे खुर्सानीसँगै विभिन्न मरमसला राखेर बनाइएको हुन्छ। मेनुमा चिकेन यमराजसँगै 'पिरो छ है' भनेर लेखिएको छ।
धेरैजसोले लभीमा आएर तीनवटै परिकार खान्छन्। अन्तभन्दा फरक मेनु र स्वाद पस्किन लामो समय लगाएर नाम जुराएको सुदर्शनले बताए।
'कुनै पनि परिकार हेर्दा राम्रो देखिनुका साथै बासना र स्वाद मिठो हुनुपर्छ,' सुदर्शन भन्छन्, 'परिकारको नाम पनि सम्झिने खालको भएपछि होटलले विज्ञापन गर्नै पर्दैन, पाहुना आफैंले गरिदिन्छन्।'
होटलमा नेपाली, इन्डियन र कन्टिनेन्टल खाना पाइन्छ। समयअनुसार परिकार थपघट हुन्छ।

यहाँको पेय पदार्थ (जुस) मा पनि नेपाली स्वाद पाइन्छ। सुदर्शनका अनुसार ३५०० मिटर उचाइमा फल्ने डालेचुक (सि बकथोर्न) लभीको मेनुमा छ। अप्पर मुस्ताङका आमा समूहले बनाएको डालेचुक उनले जुसका रूपमा राखेका छन्।
कोरोनाकालमै डालेचुकबारे अध्ययन गरेका सुदर्शन यो स्वास्थ्यका लागि राम्रो हुने बताउँछन्। मह, कागती र सुन्तला राखेर बनाउने र विशेषगरी जाडो मौसममा खान उपयुक्त हुन्छ।
'काठमाडौंमा यो जुस बनाउने रेस्टुरेन्ट लभी नै हो,' उनले भने।
यहाँ पाँचथरीका अर्गानिक नेपाली चिया पाइन्छ। आलुलाई कुरकुरे शैलीमा तारेर बनाएको 'म्याजिकल आलु' परिकार पनि धेरैले मनपराएको उनी बताउँछन्।
लभीको अर्को विशेषता 'लेकाली भोज थकाली' हो। यो लभी रेसिडेन्सको भान्सा हो। यहाँ एकपटकमा ८० जना बसेर खाना मिल्छ। यो भान्सामा मकै, कोदो, फापरको ढिँडो र च्याख्ला पाइन्छ। च्याख्ला टिमुर र चिज मिसाएर फ्राइ पनि गरिन्छ।
'यो मेनु डेढ दशक लामो अनुभवले तयार गरेको हुँ,' उनी भन्छन्, 'काम गर्दै जाँदा अझै नयाँ परिकार थपिन्छ।'
सुदर्शनले करिब दुई महिनाअघि 'लभी रेसिडेन्स' पनि सञ्चालनमा ल्याएका छन्। रेसिडेन्समा २० वटा कोठा छन्; १५ वटा डिलक्स र ५ वटा स्विट। कोठाहरू पाँच समूहमा बाँडिएको छ।
रेसिडेन्सको सबभन्दा सस्तो डिलक्स कोठा हो जसमा बस्न चार हजार पाँच सय रूपैयाँ तिर्नुपर्छ। बरन्डासहितको सुपर डिलक्स रूमको पाँच हजार ५ सय तोकिएको छ। जुनियर स्विटमा बस्न सात हजार ५ सय र हनिमुन स्विटमा नौ हजार ९९९ रूपैयाँ तिर्नुपर्छ।
लभी गार्डेनमा पनि सात वटा कोठा छन्। यी डिलक्स कोठाको तीन हजार ५ सय रूपैयाँ तोकिएको छ।
सबै कोठाको शुल्क दुई जनाका लागि हो। यही पैसामा बेलुकीको खाना र ब्रेकफास्ट समावेश छ।


रेसिडेन्समा ७० जनासम्म बस्ने क्षमता भएको बार छ। स्पा सञ्चालनको तयारी भइरहेको उनले बताए। पाँचवटा कोठामै पनि स्पा राख्ने तयारी छ।
'यो होटलले तीनतारे सरहको मापदण्ड पूरा गरेको छ,' उनले भने।
रेस्टुरेन्ट तथा होटलहरूबारे जान्न हेरिने 'ट्रिप एड्भाइजर' मा काठमाडौंका टप-१० रेस्टुरेन्टको सूचीमा लभी गार्डेन परिसकेको छ। सुदर्शनले लभीलाई अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा चिनाउने सपना देखेका छन्।
होटल क्षेत्रमा उक्लिँदै जाने सपना सुदर्शनको बालापनदेखिकै हो। उनका एक आफन्त हस्पिटालिटीमा क्षेत्रमा थिए। त्यो देखेर उनी सानैदेखि होटल क्षेत्रमा आकर्षित भए। अझ होटलले दिने सेवा र सत्कारले लोभ्याउँथ्यो। सानैदेखि यो क्षेत्रमा तानिएका उनलाई होटलसम्बन्धी पढ्ने र यसमै काम गर्ने रूचि भयो।
यही सपना देख्दै नवलपरासीका उनी एसएलसी दिएर सन् २००५ मा काठमाडौं आए। होटल म्यानेजमेन्ट विषयमा प्लस-टु गरे। प्राक्टिकल गर्न पाइने भएकाले थप ऊर्जाका साथ स्नातक पनि यही विषयमा गरे। कलेजले प्राक्टिकलका लागि विभिन्न होटलमा काम गर्न पठाउँथ्यो।
'कलेज बिदा भएपछि होटलमा गएर रातभर काम गरिन्थ्यो,' उनी सम्झिन्छन्, 'त्यही बेलै केही गर्छु भन्ने ऊर्जा चाहिँ थियो।'
स्नातक पूरा गरेपछि उनलाई पढाइभन्दा कामतिर लगाव बढ्यो। रोजगारीका लागि सन् २०११ मा उनी दुबइ पुगे। एक वर्ष काम गरेपछि कतारतिर मोडिए। कतार एयरवेजको कफी सपमा काम गर्ने अवसर पाए।
एयरवेजमा काम गर्दा अंग्रेजी भाषी पर्यटक भेटिन्थे। अंग्रेजी ढुक्कले बोल्न नसक्दा उनलाई थप पढ्नुपर्ने रहेछ भन्ने भयो। उनले स्नातकोत्तर गर्ने सोचे। अंग्रेजी बोल्ने देशमै पढे पर्यटकसँग ढुक्कले बोल्न सक्छु भन्ने लाग्यो।
उनी नेपाल फर्के र लगत्तै अस्ट्रेलिया जाने तयारी गरे। 'मास्टर्स इन इन्टरनेसनल हस्पिटालिटी' को पाँच वर्षे पढाइका लागि अस्ट्रेलिया पुगे। पढ्ने र सिक्ने क्रममा विभिन्न होटलमा आवद्ध भए। पछि त्यहाँको र्याडिसन ब्लु नामक होटलमा म्यानेजर समेत भए। काम र कमाइ राम्रो थियो। उनले अस्ट्रेलियामै बस्ने सोचे। पिआर (स्थायी बासिन्दा) का लागि आवेदन दिए।
तर एकदिन उनको विचार फेरियो।


'विदेशमा एउटा घर, गाडी र परिवार हुन्छ। सीमित मान्छेले चिन्छन्। त्यति नै हो,' उनले भने, 'यही लगानी र मेहनत स्वदेशमा गरेँ भने धेरै राम्रो हुन्छ भन्ने लाग्यो।'
त्यसपछि पिआरका लागि दिएको आवेदन रद्द गरेर सन् २०१९ नोभेम्बरमा सुदर्शन नेपाल फर्किए।
हस्पिटालिटीको अनुभव लिएर फर्केका उनलाई यहाँ केही खास र नयाँ कुराको सुरूआत गर्नु थियो। तर कहाँबाट कसरी गर्ने, अलमलमा परे। केही महिना बजार बुझे। त्यो बेला राम्रो र किफायती बिरयानी सुलभ रूपमा नपाइने गरेको पाए। अनि उनले खोले 'बिरयानी अड्डा'।
यो अड्डा सञ्चालनमा आएको २२ दिनमै कोरोना लकडाउन भयो। उनले बिरयानी डेलिभरी सुरू गरे। तर सोचेजसरी बिरयानी अड्डाबाट व्यापार हुन सकेन। कोरोना प्रभाव पनि चर्को थियो।
के-कसो गर्ने भनेर उनी जाने-बुझेकासँग सल्लाह लिन थाले। त्यही क्रममा एकदिन आफूलाई पढाएका शिक्षकसँग भेट भयो।
'बौद्धमा एउटा राम्रो रेस्टुरेन्ट छ, त्यसलाई तिमीले चलाउन सक्यौ भने राम्रो हुन्छ भन्नुभयो,' सुदर्शनले सुनाए।
फराकिलो त्यो होटल स्वीस नागरिकले चलाएका थिए। सुदर्शनलाई होटल मनपर्यो। होटल किन्ने सोच बनाए। त्यसअघि एक महिना पैसा तिरेर होटलमै बसे। बौद्ध आसपासका होटल र तिनले दिने सेवा सुविधा बुझे।
अनि ७० लाख रूपैयाँमा उनले होटल किने। चार रोपनी क्षेत्रफल भएको होटलको वातावरण प्राकृतिक बनाउन वरपर बगैंचा बनाए। अनि होटलको नाम फुर्यो 'लभी गार्डेन'।
'फ्रेन्च भाषामा लभीको अर्थ जीवन हो। हामीले यसलाई ब्रान्ड स्लोगन दिँदा सेलेब्रेट लाइफ भन्छौं,' सुदर्शनले भने, 'जीवन भनेको एउटा उत्सव हो। उत्सवलाई महोत्सव बनाउनुपर्छ।'
उनले रेसिडेन्सलाई पनि थप आकर्षक बनाए। सबै काममा करिब साढे दुई करोड लगानी लागेको सुदर्शन बताउँछन्।
२०७७ साउनदेखि होटल सञ्चालनमा आयो। कोरोना महामारी कायमै थियो। उनले आन्तरिक पर्यटकलाई लक्षित गरी खानाको मूल्य घटाए।
'ऋण गरेरै भए पनि एक वर्षसम्म चलाउँछु, त्यसपछि त लकडाउन खुल्छ होला भन्ने लाग्यो,' उनले भने।
कोरोनाताका चारैतिर सुनसान हुँदा लभीमा भने मानिसको आवतजावत बढ्यो। तीन जना मात्र कर्मचारी थिए, भ्याइनभ्याइ हुन थाल्यो। लकडाउन खुल्दासम्म होटलको प्रचार भइसकेको थियो। त्यसकारण सुदर्शन लभी गार्डेन लकडाउनमा उदाएको भन्न रूचाउँछन्।
'कोरोनाले धेरै होटल र व्यवसाय बन्द भयो। मेरा लागि भने अवसर नै बन्यो,' ३१ वर्षीय सुदर्शनले भने।

दुई वर्षमा लभी आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको छ। शनिबारका लागि अग्रिम बुकिङ नै हुन्छ। अहिले ६० जना कर्मचारीले यहाँको काम सम्हाल्छन्। लभीको ब्रान्ड र व्यवसाय फस्टाउनुमा आफूसँगै टिमको मेहनत रहेको सुदर्शन बताउँछन्।
त्यस्तै उनको अनुभवमा रेस्टुरेन्ट पाँच कुराले चल्छ- राम्रो खाना, आत्मीय सेवा, सफा वातावरण, किफायती मूल्य र पार्किङ।
'एक दशक विदेशमा पढेको, जानेको र सिकेको कुरा नेपालको हस्पिटालिटीमा प्रयोग गर्छु भनेर आएको थिएँ,' उनले भने, 'जे सोचेर लगानी गरेँ, त्यो पाइरहेको छु। तीनवटा देशमा थुप्रै किचनको अनुभव लिएँ, त्यो अनुभव लभीमा पस्किरहेको छु।'
केही महिनामै उनी काठमाडौंको शंखपार्कमा लेकाली भोज थकालीको आउटलेट खोल्ने तयारी गरिरहेका छन्। लभी गार्डेन, रेसिडेन्स र शंखपार्कमा सञ्चालन हुने थकालीका लागि एउटै किचन बनाउने योजना छ। यसका लागि सुकेधारामा लभीको एउटा कर्पोरेट अफिस खोल्ने सोचेका छन्।
स्वदेशमा प्रशस्त अर्गानिक परिकार भएर पनि त्यसलाई हस्पिटालिटीमा प्रयोग गर्न नसकेको उनको भनाइ छ। त्यस्तै यो क्षेत्रमा शिक्षाको पनि कमी देख्छन्। त्यो पूरा गर्न उनलाई एउटा कलेज खोल्ने मन छ।
छोटो समयमै लभीको फ्रेन्चाइज माग्नेहरू पनि भएका छन्। सुदर्शन अहिल्यै फ्रेन्चाइज दिने मनसायमा छैनन्।
भन्छन्, 'लभीलाई ठूलो ब्रान्ड बनाउने र अस्ट्रेलियामा आउटलेट खोल्ने सपना छ।'
सबै तस्बिर सौजन्यः लभी गार्डेन
