बुटवलका निर्माण थैव श्रेष्ठ व्यापारिक परिवारमा जन्मिए/ हुर्किए। उद्योग तथा व्यापार क्षेत्रमा नाम कमाएको 'आवास ग्रुपको' तेस्रो पुस्ता हुन् उनी।
व्यवस्थापनमा स्नातक तहसम्म अध्ययन गरेका निर्माणले प्लस टु पढ्दैदेखि परिवारको व्यापार हेर्न थालेका थिए।
उनले सुरूमा आवास ग्रुप अन्तर्गतको ‘ज्याकुर ईण्डष्ट्रिज’ सम्हाले। आवास ग्रुपले उद्योग तथा व्यापारमा एकदर्जन बढी फर्म सञ्चालन गरेको छ।
त्यसमध्ये एक थियो ज्याकुर इण्डष्ट्रिज। बाथरूम तथा किचनमा प्रयोग हुने पाईप र धाराहरूको बजारमा ज्याकुर ईण्डष्ट्रिजले ग्राहकको मन जितिसकेको थियो।
उनले त्यहीँ सम्हाले। तर उनको मन भने अन्तै थियो जो आवास ग्रुपले उत्पादन गर्दैनथ्यो।
उनको मन थियो- फर्निचर उद्योग खोल्ने।
पाइप उद्योगमा काम गरे पनि उनको ध्यान फर्निचरका सामाग्री तिर बढी जान्थ्यो।
‘फर्निचरमा धेरै सम्भावना देखेको थिएँ, नेपालको सबै बजार चाईनिज उत्पादनले लिएको थियो, तर गुणस्तर थिएन,' निर्माणले भने।
कुर्ची, टेबल, सोफा किनेको दुई चार महिनामै भाँच्चिने च्यातिने समस्या हुन्थ्यो र ग्यारेन्टी वारेन्टी नभएकोले ग्राहकले चाइनिज उत्पादन प्रयोग गर्दा धेरै झण्झट व्यहोरेको उनले पत्ता लगाए।
फर्निचरमा बढेको चासोले यी कुरा खोज्न बुझ्न उनलाई सघाएको थियो। समयसँगै उनलाई फर्निचर उद्योग आफैंले खोल्नुपर्छ भन्ने सोच आयो।
'फर्निचर गुणस्तरीय उत्पादन गर्नुपर्छ भन्ने सोच मलाई पहिलैदेखि आएको थियो। तर मलाई काम सिक्नु थियो,' उनले भने।
दिमागमा उद्योग कसरी चलाउने भन्ने खेल्दै गयो। गर्दैआएको कामलाई निरन्तरता नै दिए।
‘केही वर्ष काम गरेपछि उद्योग खोल्न लागेँ,’ उनले भने।
२०७६ सालको अन्त्यतिर विश्वभर कोरोना महामारीको लहर फैलिरहेको थियो। निर्माण भने आफ्नो किशोर उमेरदेखिकै रूचिको फर्निचर उद्योग सुरू गर्नमा व्यस्त थिए।
नभन्दै उनले वर्षौंदेखि खोल्न मन लागेको उद्योग खोलेरै छोडे, नाम राखे - आवास स्टिल एण्ड फर्निचर।
फर्निचर उद्योगका लागि रूपन्देहीको देवदह नगरपालिका गैह्रीगाउँमा आवास ग्रुपले केही समय अगाडिनै तीन बिगाह जग्गा किनेको थियो। त्यसको मूल्य सात करोड भन्दा बढी हुन्थ्यो।
त्यसबाहेक उद्योगका लागि चाहिने संरचना निर्माण, फर्निचर उत्पादनका लागि चाहिने मेसिन र काठ फोम कपडालगायतका सामाग्रीका लागि उनले लगानी गरे। उनले प्लाष्टिकको दानाबाट डोरी उत्पादन गर्ने मेसिन पनि किने। यो सबैमा अहिलेसम्मको लगानी २५ करोड पुगेको उनले बताए।
करोडौं लगानी गरेर उद्योग सञ्चालन नै गरेपछि उनले कोरोना महामारीमा पनि उत्पादनलाई निरन्तरता दिए।
कोरोना भित्रिएपछिको लकडाउनमा पर्यटन, यातायात, गैर खाद्यलगायत अधिकांश क्षेत्रका उद्योग बन्द भए। तर आवास स्टिल एण्ड फर्निचर उद्योगको उत्पादन रोकिएन।
‘हाम्रो उद्योग कोभिडकै दाजुभाइ भने पनि हुन्छ, उद्योग सुरू गरेको दुई तीन महिना मात्र भएको थियो कोभिड सुरू भईहाल्यो,’ उनले भने, 'तर कोरोनाको लकडाउनकै बेला पनि हामीले उत्पादन भने गरिरह्यौं।’
लकडाउन अवधिभर कामदारलाई उद्योग भित्रै राखेर फर्निचर उत्पादन गरेको उनले बताए।
लकडाउन खुकुलो हुनेवित्तिकै आफ्ना उत्पादन उनले बजारमा पठाए।
लकडाउन खुकुलो भएपछि सिमा नाका बन्द थियो। यसको प्रत्यक्ष फाइदा आफूलाई भएको निर्माणले बताए।
सिमा बन्द गरिएको भएर बाहिरबाट सामाग्रीहरू आयात गर्ने अवस्था थिएन। त्यहीँ मौका छोपेर उनले आफ्ना उत्पादनको बजार विस्तार गरे।
'चाईनिज फर्निचरको आयात रोकिएको बेला आफ्नो उत्पादनलाई बजारमा पठाएँ र ग्राहकलाई नेपाली उत्पादन प्रयोग गर्नुपर्छ भन्ने बानी बसाल्न सिकाएँ,' उनले भने, 'अहिले पनि त्यो जारी छ।’
पहिले चाईनिज उत्पादन प्रयोग गर्नेले अहिले आफ्नो उत्पादन प्रयोग गर्न थालेको उनी बताउँछन्।
‘हामीले सहि समयमा उत्पादन सुरू गरेछौं भन्ने लाग्छ, कोभिड छ भनेर उत्पादन नगरि बसेको भए अहिले पनि चाईनिज उत्पादन नै बजारमा गएको हुन्थ्यो, बाहिरबाट आयात रोकिएको समयमा हाम्रो उत्पादन बजार पठाएकोले पहिले चाईनिज उत्पादन किन्नेले अहिले हाम्रो उत्पादन लैजानुहुन्छ,’ निर्माणले भने।
उद्योग सुरू गर्दा पार्टी प्यालेसमा प्रयोग हुने कुर्ची टेबलको मात्र उनले उत्पादन गरेका थिए।
उनले अहिले भने फर्निचर लाईनका अधिकांश सिरिजहरू उत्पादन गर्छन्।
स्कुलमा प्रयोग हुने डेस्क बेन्च, अफिस, पार्टी प्यालेस, होटल तथा रिसोर्टमा 'आउटडोर' र 'इनडोर' प्रयोग गरिने बुनेर बनाईएका कुर्ची टेबल, क्याफे तथा रेष्टुरेण्टका लागि सोफा, रिभल्भिङ कुर्चीलगायतका उत्पादन गर्छन्।
बुनेर बनाउने टेबल कुर्चीको उत्पादन नेपालकै पहिलो भएको उनको दाबी छ। कुर्ची बुन्ने प्लाष्टिकको डोरी पनि आफैंले उत्पादन गर्ने गरेको उनले बताए।
प्यालेस टेन्ट, अफिस, भिजिटर चेयर, विकेर फर्निचर, रेष्ट्रो एण्ड बार, सोफा, डाईनिङ, स्कुल फर्निचर सिरिजका गरी ३ सयभन्दा बढी प्रकारका कुर्ची, स्टुल, टेबल तथा झुला उत्पादन गर्छन्।
उद्योगको उत्पादनमध्ये ग्राहकले सबैभन्दा बढी मन पराएको भने झुला हो। जो दैनिक ३० वटासम्म माग हुने गरेको जानकारी उनले दिए।
आवास फर्निचरले दैनिक करिब ५ सय कुर्ची, एक सय भन्दा बढी अफिस सामग्री र ३० वटा सम्म झुला उत्पादन गर्छ। यी सबै उत्पादन बजार पठाउँछ।
२ करोडसम्मको फर्निचर मासिक रूपमा बजारमा पठाउने गरेको उनको भनाइ छ।
अहिले फर्निचरका सामग्री उत्पादन गरेको उद्योगले केही समयमै म्याट्रेससमेत उत्पादन गर्ने योजना छ।
उत्पादन बढ्दै गएकाले लगानी पनि बढिरहेको उनले बताए।
‘लगानी यति भयो भन्ने नै छैन, उत्पादन थपिरहेकोले लगानी पनि बढिरहेको छ,’ उनले भने।
मुख्य बजार काठमाडौं हो। त्यसबाहेक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै उनले आफ्नो उत्पादन पुर्याएका छन्।
करिब २ सयलाई रोजगारी दिएका निर्माणले आफ्नो उद्योगमा विशेषगरि महिला र स्थानीयलाई प्राथमिकता दिन्छन्।
आवास स्टिल फर्निचरमा काम गर्ने कामदार पनि सबै स्थानीय छन्।
'जहाँ उद्योग खोलिएको छ त्यहीँ क्षेत्रका कामदारलाई राखियो भने स्थानीयले रोजगारी पाउने मात्र होईन उद्योग छोडेर जाने समस्या पनि हराउँछ,’ उनले भने, ‘६० प्रतिशत भन्दा बढि महिला कामदार छन्। महिलाहरूको हात अलि छिटो र सफा पनि चल्छ, महिलाहरू अलि बढि लगनशील पनि हुन्छन्। त्यसैले पनि महिलाहरु प्राथमिकतामा पर्नुहुन्छ।'
कोभिडको बेला समेत कुनै दिन उद्योग बन्द नगरेका निर्माण हप्ताको सातै दिन उद्योग संचालन गर्छन्।
‘दशैं तिहार, शनिबार आईतबार कुनै दिन पनि उद्योग बन्द भएको छैन, ग्राहकहरूको अर्डर पुर्याउनै सकिएको छैन,’ उनले भने।
उत्पादनलाई बढाएर भए पनि अहिलेको माग पुरा गर्न लागिपरेको उनले बताए। ‘उत्पादन बढाउन तिलोत्तमाको कोटिहवामा यसैको शाखा सञ्चालन गर्दै छौं,’ उनले आगामी योजना सुनाए।
छोटो अवधिमै उद्योग र व्यापारमा कमाएको आवास ग्रुपको छविलाई खस्किन नदिन उत्पादनलाई अझै गुणस्तरीय कसरी बनाउन सकिन्छ भन्ने कुरामा मात्रै आफ्नो ध्यान रहेको उनी बताउँछन्।
‘गुणस्तरमा तलमाथि हुँदाको दिन फर्निचर मात्र खस्किँदैन, आवास ग्रुपका सबै उद्योग र प्रतिष्ठानमा त्यसको नकारात्मक प्रभाव पर्छ त्यसले पनि गुणस्तरतर्फ सचेत छु,’ उनले भने।
बुवाहरूको सिको गर्दै उद्योग र व्यापारमा लागेका निर्माण आफैंले पनि केही नयाँ गरौं भन्ने सोचेर फर्निचरमा लागे।
उद्योग सुरू गरेको दुई वर्षमै फर्निचरले आफ्नै ब्राण्ड बनाउन सकेकोमा उनि खुसी छन्।
‘हाम्रा फर्निचर ग्राहकले यसरी मन पराइदिनुहुन्छ भन्ने त सोचेकै थिईनँ, नेपाली ग्राहकले चाईनिज उत्पादनबाट कति झण्झट बेहोर्नुभएको रहेछ भन्ने प्रमाण पनि हो यो,’ उनी भन्छन्।
निर्माणको दैनिकी बिहान ८ बजेदेखि यहीँ उद्योगबाटै सुरू हुन्छ। नयाँ नयाँ डिजाईनमा फर्निचर बनाउने र त्यसको बजारिकरणको योजनामै उनले राती अबेरसम्म समय बिताउँछन्।
आधुनिक प्रविधिलाई अपनाउँदा छोटो समयमै फर्निचर उद्योगमा सफलता मिलेको उनको अनुभव छ।
‘बजारमा पठाएका हाम्रै उत्पादन पनि कतिपय ग्राहकले नेपालकै उत्पादन भएका हुन् भनेर पत्याउनुहुन्न, नेपालमा पनि यस्ता फर्निचर उत्पादन हुन्छन् भन्ने उहाँहरूलाई थाहा नै छैन,’ उनले भने।
त्यो बेला भने आफ्नो मन चसक्क हुने उनले बताए।
उनले २ वर्षमा आफ्नो उद्योगलाई बजारमा स्थापित गरिसकेका छन्। देवदह भलुहीमा जग्गा साँघुरो भएपछि कोटिहवामा लक्जरियस सोफा मात्र उत्पादन गर्ने गरि फर्निचर उद्योगकै शाखा सञ्चालन गर्ने तयारीमा रहेको निर्माणले बताए।
नेपालका कतिपय सरकारी नीति उद्योगीमैत्री नभए पनि उद्योग क्षेत्रमा आफूजस्ता युवाहरूको आकर्षण भने बढेको उनले बताए।
‘आठ दश वर्ष अघिसम्म बन्द, हड्ताल, चक्काजाम र लोडसेडिङले उद्योग फस्टाउन सकेका थिएनन्, अहिले ती समस्या नभए पनि झन्झटिला सरकारी नीतिले सोचे अनुसारको लगानी हुन सकेको छैन, सरकारले उद्योगमैत्री नीति ल्याउने हो भने उद्योग क्षेत्रमा लगानीको अभाव हुँदैन,’ निर्माणले भने।