नरम खाना, ढिँडो, झानेको कालो दाल, घ्यू, हरियो साग, करेला र मूलाको अचार अनि स्वादिलो तरकारी। थकाली खाना मन नपराउने कमै होलान्। घरमा पाकेभन्दा बेग्लै स्वादको थकाली खान चाख्न कयौं रेस्टुरेन्टमा भिड लाग्छ।
स्वादका लागि थकाली खाना जति चर्चित छ, थकाली खाजा पनि उत्तिकै मिठो हुन्छ।
यो भिडिओ ब्लगमा हामी स्वादिष्ट थकाली खाजा खान र त्यसबारे बुझ्न बौद्धस्थित 'ह्याप्पिनेस थकाली खाजा घर' पुगेका छौं।
त्यहाँ हामीले रेस्टुरेन्टका सञ्चालक शक्ति शेरचनलाई पनि भेट्यौं। शेरचनका अनुसार उपत्यकामा थकाली खानाको ट्रेन्ड ह्वात्तै बढे पनि थकाली खाजाबारे प्रायःलाई थाहा छैन। त्यसैले थकाली खाजा पनि प्रवर्द्धन गर्न उनले आफ्नो रेस्टुरेन्टको मेनुमा यसलाई समावेश गरेका छन्।
हामीले थकाली खाजामध्ये कन्छेम्बा, घेतु र घोकेन चाख्यौं।
कन्छेम्बा फापरको पिठोले बन्ने परिकार हो। फापरको पिठो पानीमा मोलेर, लाम्चो काटेको आलुजस्तै आकार दिएर तातो तेलमा तारेपछि तयार हुने परिकार हो कन्छेम्बा।
कन्छेम्बा चियासँग स्न्याक्सका रूपमा खाने चलन छ। कन्छेम्बा टिम्मुरको अचारसँग खाँदा झनै स्वाद आउने शेरचनले बताए।
अर्को परिकार घेतु हझ। यो चल्तीमा रहेको खाजा थुक्पा जस्तै हुन्छ। उसिनेको नुडल्समा मज्जाले पकाएको किमाको झोल र सागसब्जी हालेपछि मिठो घेतु तयार हुन्छ।
घोकेन बनाउने तरिका पनि त्यति गाह्रो छैन। यो परिकार फापरको पिठोमा लेदो हुन गरी पानी मिसाएर त्यसलाई तातो ताप्केमा घ्यू हालेर रोटी जसरी पकाइन्छ। अर्थात् फापरको गिलो रोटी।
यो रोटी चामलबाट बनेको फिनसँग पकाएको तरकारी वा मासुसँग खाइन्छ।
यो भिडिओ ब्लगमा हामीले सञ्चालक शेरचनसँग यी तीन थकाली खाजा पकाउने तरिका र त्यसले स्वास्थ्यमा पार्ने फाइदाका कुरा गरेका छौं।