सयपत्री र मखमलको फूल ढकमक्क फुलेसँगै उपत्यकामा तिहारको माहोल बढ्दै गएको थियो। बजारमा पनि चहलपहल बढ्ने क्रम सुरू हुने तयारी हुँदै थियो। र, साँझ परेपछि बत्तीको उज्यालो अरू बेलाभन्दा चम्किलो भइरहेको थियो।
यो रमझममा हामीलाई पनि मिसिनु त थियो नै।
त्यसैले यसपालिको तिहारका लागि घर सजाउन हामी पाला किन्न निस्कियौं।
पाला भन्ने बित्तिकै हाम्रो दिमागमा भक्तपुरको 'पोटरी स्क्वायर' बसिसकेको थियो। अरु कुनै ठाउँ नसोची हामी सिधै भक्तपुर गयौं।
पोटरी स्क्वायर माटाका भाँडा बनाउन चर्चित छ। यहाँको मुख्य आकर्षण माटोका सुन्दर कलाहरू हुन्। बजारमा पाउने अधिकांश माटाका सामान यहीँबाट लगिएको स्थानीयले बताए।
भक्तपुर दरबारस्थित पाँच तले मन्दिरबाट दाँयातर्फ केहीछिन हिँड्ने हो भने पोटरी स्क्वायर जाने बाटो देख्न सकिन्छ।
हामी पुग्दा व्यवसायीहरू तिहारका लागि पाला बनाउन भ्याइनभ्याइ देखिन्थे। उनीहरूको कला देखेर हामीलाई पनि माटोसँग खेल्ने इच्छा जाग्यो।
यहाँका गल्ली छिचोल्दै हामी बाटो नजिकैको आँगनमा टन्न पालाहरू सुकाएर राखेको एक पसलमा पुग्यौं।
त्यहाँका व्यवसायी शिवदेव प्रजापति भटाभट पाला बनाउन व्यस्त थिए। तर काम गर्दै हामीसँग बोल्ने फुर्सद निकाल्न पनि भ्याइरहेका थिए।
उनी करिब ३० वर्षदेखि माटाको भाँडा बनाउँदै आएका रहेछन्। उनका बाबुबाजेले पनि यही काम गरेका रहेछन्। त्यही सिको गरेर उनले पनि आफ्नो पुर्ख्यौली बाटो रोजेको बताउँछन्।
केहीबेर कुराकानी गरेपछि उनले हामीलाई पनि पाला बनाउन सिकाए।
यो भिडिओ ब्लगमा हामीले व्यवसायी शिवदेव प्रजापतिसँगको कुराकानी र उनले सिकाएको पाला बनाउने तरिका समेटेका छौं।