संघीय संसदका सदस्य एवं वरिष्ठ उद्योगपति विनोद चौधरीले निम्न आय भएका श्रमिक, मजदुर र कामकाजीलाई कोरोनासँगै भोकबाट बचाउन आवश्यक रहेको बताए।
‘सरकारले नीति तथा कार्यक्रममा थुप्रै नयाँ र पुराना योजना ल्याएको छ’, प्रतिनिधिसभाको सोमबारको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलमा सांसद चौधरीले भने, ‘तर दैनिक हातमुख जोर्न इलम गर्ने नागरिकको सुरक्षामा हामी संवेदनशील हुनुपर्ने अवस्था आएको छ।
रिक्सा चलाउने, मजदुरी गर्ने, नाङ्लो पसल गर्ने वर्ग कोरोनाभन्दा पहिले भोकबाट मरिने त्रासमा बाँचिरहेका छन्। उनीहरूलाई जोगाउने पहल गर्न ढिला गर्न नहुने उनको जोड छ।
अहिलेको प्राथमिकता पहिले बाँच्नु र बचाउनु रहेको भन्दै चौधरीले गुमेका रोजगारी, बन्द उद्योगधन्दालाई जीवित राख्न तत्काल सरकारले कदम चाल्नुपर्ने चौधरीको भनाइ छ।
‘अहिले भइरहेका उद्योगधन्दा बन्द भइराख्ने हो भने भोलि नयाँ उद्योग खुल्लान् र अर्थतन्त्र सबल होला भनेर सोच्नु दिवा स्वप्न मात्रै हो’, उनले भने।
विदेशबाट फर्किएर आउने र स्वदेशकै श्रमबजारमा थपिने युवालाई कृषिमा सहभागी बनाउन सकिने नीतिको चौधरीले समर्थन गरे।
कृषि क्षेत्रलाई बलियो बनाउन सकियो र भारत र चीनबाट आयात हुने तरकारी÷फलफूलसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्नसक्ने वातावरण बनाएमा नेपालको अर्थतन्त्रले काँचुली फेर्नसक्ने उनको भनाइ छ।
साथै सामुदायिक वन अवधारणाले संसारलाई प्रेरित गरेको उदाहरण दिँदै उनले कृषिमा पनि त्यस्तै अवधारणाले काम गर्न सकिए मुलुकको अर्थतन्त्रले कोल्टे फेर्ने बताए।