यातायात व्यवस्था विभागले बिहिबार घोषणा गरेको नयाँ भाडादरको विरुद्धमा ट्याक्सी व्यवसायी अन्दोलनमा उत्रिने भएका छन्।
विभागले निर्धारण गरेको ५० रुपैयाँ ‘फ्ल्याग डाउन मनी’ निकै न्यून भएकोले आन्दोलनमा जानुको कुनै विकल्प नभएको उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रीय सदस्य विष्णु चौहानले जानकारी दिए।
‘यस अघि चढेपछि पहिलो १ किलोमिटरमा ५३ रुपैयाँ भाडा थियो। यो शुल्क कम भयो भनेर हामीले गुनासो गरिरहँदा विभागले झन घटाएर ५० बनाइदियो। यो शुल्कमा ट्याक्सी चलाउन सकिँदैन,’ उनले सेतोपाटीसँग भने।
विभागको यो निर्णयको विरुद्धमा उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज, मिटर ट्याक्सी व्यवसायी सघं लगायत मिलेर आन्दोलन गर्ने चौहानले चेतावनी दिए। आन्दोलनका कार्यक्रम भने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ लगायतका सरोकारवालाहरुसँग सल्लाह गरेर घोषणा गर्ने उनले बताए। ‘ट्याक्सी चालकलाई नजिक जाँदा घाटा पर्ने हो। नजिकको शुल्क झनै घटाएपछि मिटरमा जान नमान्ने समस्या विकराल बन्छ,’ चौहानले भने।
विभागले आज सार्वजनिक यातायातको भाडा अधिक्तम १२ प्रतिशतले बढाएको हो। ट्याक्सीको हकमा यसअघि चढ्ने वित्तिकै १४ रुपैयाँ र त्यसमा प्रत्येक किलोमिटरमा ३९ रुपैयाँ थपिँदा पहिलो एक किलोमिटरमा नै ५३ रुपैयाँ पाउँथे। विभागको आजको निर्णय अनुसार ५० रुपैयाँले पहिलो १ किलोमिटर र त्यसपछि २०० मिटरको ८ रुपैयाँ ८० पैसाका दरले अर्थात दोस्रो किलोमिटर देखि ४४ रुपैयाँ प्रतिकिलोमिटर पर्न जान्छ।