पौरखनारायणगढका विकास सुवेदी बेलायतमा आइटी सम्बन्धी अध्ययन गरेर फर्किएका हुन्।
चावहिलकी ऋचा धमला अष्ट्रेलियामा नर्सिङ सकेर आइन्।
उता पेप्सीकोलाका निकुञ्ज भण्डारीले नेपालमै स्नातक सके।
यी तीन जना कलेज वा स्कुलका साथी होइनन्।
तीन वर्षअघि साथी–साथीमाझबाटै उनीहरूको चिनाजान भयो।
भेटघाट बाक्लिँदै गयो, घनिस्टता बढ्यो।
यो मित्रता गाँसिनुमा एकै कारण थियो, उद्देश्य।
तीनै जना आ–आफ्ना क्षेत्रको कामभन्दा बाहिर केही नयाँ गर्न चाहन्थे।
‘यही कारण हाम्रो विचार मिल्यो,’ सेतोपाटीसँग विकासले भने, ‘अनि साथी भयौं।’
‘साथी मात्र होइन, बिजनेस पार्टनर पनि,’ निकुञ्जले भने, ‘हामी नयाँ ढंगको व्यवसाय गर्न चाहन्थ्यौं।’
गर्ने के त?
तीनै जनाको दिमागमा व्यवसाय सोच आउन सकेको थिएन।
‘हामी पहिले काठमाडौंमा बस्ने मान्छेका व्यक्तिगत समस्या केलाउन थाल्यौं। अनेक आए दिमागमा। समस्यासँगै सबैका कारण पनि खोज्न थाल्यौं। प्राय समस्याको जड व्यस्तता रहेछ भन्ने लाग्यो,’ विकासले भने, ‘यही व्यस्ततामा कुनै एक व्यवसाय खोज्न थाल्यौं।’
उनीहरूले छलफल जारी राखे।
सामान्यतया सातामा हुने एक दिन पनि मान्छे व्यस्त हुन्छ। घरकै साधारण कामले गर्दा परिवार वा साथीभाइसँग भेटघाट गर्न मुश्किल पर्छ।
‘यसमा पनि कुन कामले बढी समय लिन्छ भनेर हेर्न थाल्यौं। आफ्नै साथीभाइ र आफन्तलाई सोध्यौं,’ निकुञ्जले भने, ‘अधिकांशको समस्या लुगा धुने रहेछ।’
काठमाडौंको व्यस्त जीवन, धूलोमैलो र पानी अभाव। यी तीन कारणले लुगा धुने काम झनै समस्याग्रस्त भएको उनीहरूले देखे।
‘हो यस्तै समस्या हल गर्न सक्छौं भन्ने लाग्यो, उनले भने, ‘अनि एक दिन बल्ल आइडिया फुर्यो।’
अनलाइन वा फोनबाट अर्डर लिएर कपडा घुने व्यवसाय गर्दा कसो होला?
‘ग्राहकलाई घरबाट निस्कन पर्दैन, परिवारसँग समय बिताउन पनि पाउँछन्।’
‘आइडिया ‘लक’ भयो, तीनै जनालाई निर्णय गर्न एक मिनेट पनि लागेन’, विकासले भने।
‘यो काम कसैले घरमा मान्छे बोलाएर लगाउन पर्छ कि ड्राइ क्लिनर्समा दिनुपर्छ। घरमा पानी नहुन सक्छ, बाहिर जाँदा आफैंले बोकेर लैजानुपर्छ र समय पनि जान्छ। नजिकै नहुँदा झन् समस्या हुन्छ,’ विकासले भने, ‘यही सोचेर लुगा धुने व्यवसाय गर्ने भयौं।’
गर्ने त भए, नयाँ काम सहज भने थिएन।
उनीहरू रिसर्च गर्नतर्फ लागे। बाटामा हिँड्ने मान्छेलाई सोधे, साथीहरूसँग सल्लाह लिए, होटल–लज धाए। दुई महिना यसैगरी बिताए।
प्रतिक्रिया राम्रो आयो। उनीहरू झनै हौसिए।
‘कतिले राम्रो काम भने, कति साथीले ‘धोबी हुने भयौ’ भनेर जिस्क्याए,’ विकासले सम्झिँदै भने, ‘हामीले गर्ने ठानिसकेका थियौं। अरूले जे भने पनि परिवारले साथ दिनुभयो। अरू के चाहिन्थ्यो र। धोबी हुन कम्मर कस्यौं।’
‘बधाइ छ, हामी धोबी हुने भयौं,’ उनीहरू आफू–आफूलाई बधाइ र शुभकामना दिन थाले।
कम्पनीको नाम राखे, नेपाली धोबी।
‘नाम राख्न पनि मुश्किल भएको थियो,’ विकासले भने, ‘अनलाइन सेवा भएकाले नाम सजिलो राख्नु पर्छ भन्ने थियो। धोबी त जोडिने नै थियो। अगाडि के राख्ने भन्ने अन्यौल भइरहेको थियो,’ निकुञ्जले भने।
कसरी फुर्यो त?
एकदिन कफि खादैँ गर्दा ऋचाले भनिछन्, ‘नेपाली धोबी’ राख्दा के होला?’
विकासले तत्कालै यो नाम डोमेन दर्ता छ की छैन भनेर हेरे। खाली रहेछ।
तुरुन्त डोमेन दर्ता गरे– नेपाली धोबी डटकम।
उनीहरूले ड्राइक्लिनर्समा काम गर्ने विभिन्न मान्छे भेटे। लुगा धुने मेसिन, केमिकल, सुकाउने तरिका सम्बन्धी ज्ञान लिए।
अब लुगा धोएको पैसा चाहिँ कति राख्ने भन्ने अन्यौल भयो।
‘सबैलाई सुहाउँदो राख्नुपर्यो। विद्यार्थीलाई पनि सस्तो लाग्नुपर्यो। बजारमा प्रतिस्पर्धा उस्तै रहेछ। कफि खाँदै सोच्यौं, कफिले नै फुराइदियो,’ उनले हाँस्दै भने, ‘एक कप कफिको भन्दा कम मूल्य राखौं भन्ने भयो।’
एउटा रेष्टुरेन्टमा क्यापुचिनो खाँदा कम्तिमा एक सय चालिस रूपैयाँ पर्छ। ‘कफि नखाने सायदै होलान्,’ निकुञ्जले भने, ‘एक सय २० रूपैयाँ राख्यौं भने त क्यापुचिनो पनि आएन नि।’
मूल्य तोकियो, साधारण एक केजी कपडाको १ सय २० रूपैयाँ।
योबाहेक अन्य विशेष कपडा धुन फरक मूल्य छ।
कोट, लेहेंगा, सारी लगायत महँगा र नरम कपडा स्पेसल तरिकाले धुनुपर्छ। यस्तालाई केजी अनुसारको धुलाइमा नराख्न उनीहरू सुझाउँछन्।
त्यस्तै डबल ब्ल्यांकेट धोएको ३ सय ५० रुपैयाँ।
उनीहरुले आफ्नो वेबसाइटमा सबै खाले कपडाको मूल्य सूची खुलाएका छन्।
उनीहरू कपडा धुनेमात्र हैन जतन पनि गर्ने दाबी गर्छन्।
‘स्पेसल कपडा छ भने हामी बिलमा पनि स्पेसल भनेर लेख्छौं, र त्यहीअनुसार धुन्छौं,’ विकासले भने, ‘कुनै कपडाको रङ जान्छ भने हामीलाई भनिदिनु। त्यही पैसामा छुट्टै तरिकाले घोइदिन्छौं। कपडा जस्तो छ त्यहीअनुसार धुने हो।’
लुगा धुने मजदुर कति छन्?
‘मजदुर होइन, टिम मेम्बर,’ उनले भने, ‘कपडा धुने ६ जना र अन्य २ जना गरी ८ जना टिम मेम्बर हुनुहुन्छ। यो बाहेक पर्यो भने हामी तीनै जना पनि पिकअप–डेलिभरी गर्छौं।’
आफैं लुगा लिन–दिन जाने?
‘जान्छौं। रमाइलो लाग्छ, खुसी पनि। एकपटक कोटेश्वरमा म कपडा लिन गएको थिएँ। उहाँले हाम्रो वेबसाइटमा मेरो फोटो देख्नु भएको रहेछ। अचम्म मान्नु भयो र खुसी हुँदै चिया समेत खुवाएर पठाउनु भयो। ग्राहकले यसरी सम्मान गरेको देख्दा आफैं आत्मबल आउने रहेछ,’ उनले भने।
यो एक साताअघिको कुरा हो। उनीहरूले काम सुरु गरेको एक महिना पनि पुगेको छैन। कपडा अर्डर लिन थालेको दुई साता हुन लाग्यो।
मान्छेले कसरी जानकारी पाउने त?
‘हाम्रो विज्ञापन मुख्यतया सामाजिक सञ्जाल नै हो,’ निकुञ्जले भने, ‘प्रचार थालेपछि दिनै ७०–८० वटा फोन, केही इमेल र औसत ३०–३५ किलो कपडा अर्डर आउन थालेको छ।’
उनीहरुले सडकका पोलहरूमा पर्चा पनि टाँस्ने गरेका छन्।
‘ग्राहकका जिज्ञासा धेरै हुन्छन्। सबै विज्ञापनमा समेटिँदैन। एक केजीमा कुन कुन कपडा राख्न पाइन्छ, कसरी धोइन्छ, डेलिभरी चार्ज कति लाग्छ यस्तै यस्तै सोध्नुहुन्छ,’ विकासले भने।
उनका अनुसार चार किलोभन्दा धेरै कपडा छ भने डेलिभरी चार्ज लिदैनन्। त्यो भन्दा कम भए ५० रुपैयाँ पर्छ। त्यस्तै उनीहरूले कपडा लगेको ४८ घण्टामा डेलिभरी गर्ने दाबी गर्ने विकास बताउँछन्।
अहिले नेपाली धोबीको सेवा रिङरोड भित्र मात्रै भए पनि विस्तारै फैलाउने योजना उनीहरूको छ।
‘हामीले कम्पनी सुरु गर्दा यो समस्या आयो भने यो तरिकाबाट सल्टाउँला भनेर धेरै सोचेका छौं, विकासले भने, ‘कम्पनी सफल होला नहोला तर सुरुमै आत्तिएर काम छोड्दैनौं। सुरुमै राम्रो हुन्छ भन्ने छैन। मिहिनेत चाहिन्छ, मान्छेलाई सहयोग हुने काम गरेर विश्वास जित्नुपर्छ।’
कमाइकै लागि विदेश धाउनुभन्दा यहीँ केही नौलो काम थाले सफल हुन सकिने उनी बताउँछन्। ‘काम सानो–ठूलो हुँदैन। राम्रो–नराम्रो हुन्छ,’ विकासले भने, ‘ऋचा, निरञ्जन र म धोबी भयौं, हामीलाई गर्व छ। र, राम्रो काम गर्छौं भन्ने अठोट छ।’