केही समय पहिले निम्बस भन्ने बित्तिकै सबैले कुखुराको दाना उत्पादन गर्ने उद्योगको रूपमा चिन्थे तर अहिले परिचय बदलिएको छ। अर्थात् दाना उत्पादनबाट कृषि प्रशोधन उद्योगको रूपमा निम्बस उदाएको छ।
पशुपंक्षीको लागि दानासँगै कृषिजन्य उपजको प्रशोधन तथा प्याकेजिङमा निम्बस गइसकेको छ।
गएको वर्षदेखि व्यञ्जन र सुनौलो किरण ब्राण्डमा खाने तेल उत्पादन गरेको निम्बसले विस्तारै किरानापसलमा आवश्यक सबै खाद्यन्न प्रशोधन तथा प्याकेजिङ गर्ने उद्देश्य लिएको निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरियाले जानकारी दिए।
पशुपालनको लागि आवश्यक विभिन्न प्रकारका दाना उत्पादनलाई परिष्कृत गर्दै खाद्यान्न उत्पादनमा नयाँ प्लाण्ट राख्ने योजनालाई प्राथमिकता दिएको उनको भनाइ छ।
निम्बसले चालू वर्षभित्रै धानको भुसबाट तेल उत्पादन गर्ने प्लाण्ड लगाउने योजना बनाएको छ।
‘तेल, दाल, चामल उत्पादनमात्र होइन हामी त्यसमा नयाँ प्रविधिबाट उत्कृष्ट उत्पादन पनि उपभोक्तासम्म पुर्याउछौं’ बगरियाले भने,‘क्रमश हामी नयाँ प्लाण्ट राख्दै जानेछौं।’
वीरगंजमा रहेको उद्योगमा आगामी वर्ष दाल प्रशोधन प्लाण्ट राख्ने निम्बसको योजना छ। यसको लागि मेसिन अर्डर भइसको कम्पनीका कार्यकारी निर्देशक दिनेश गौतमले जानकारी दिए।
कुनै पनि उपभोक्ताले पसलबाट किनेर भान्सामा लिने सबै वस्तुको उत्पादन र प्रशोधन गरी सस्तोमा गुणस्तरीय वस्तु उपलब्ध गराउने गौतमले प्रतिबद्धता जनाए।
‘हाल हामीले उत्पादन गरिरहेको तेल विश्वस्तरीय त, कुनै पनि विदेशी तेलभन्दा गुणस्तरको मामिलामा हामी कम छैनौं’ उनले भने, ‘मूल्यमा पनि विदेशीको तुलनामा सस्तो छौं यही सुत्र हामी अन्य उत्पादनमा पनि लगाउँछौ।’
गएको वर्ष ७ अर्बको कारोबार गरेको कम्पनीले आगामी १२ वर्षभित्र वार्षिक ४० अर्ब रुपैयाँको कारोबार गर्ने लक्ष्य लिएको छ। त्यसको लागि वर्षेनी नयाँ उत्पादन र प्लाण्ट राख्दै जाने छ।
चालू वर्षभित्र ५० करोड रुपैयाँ लगानीको योजना बनाएको निम्बसले आगामी दिनमा लगानी बढाउँदै जाने योजना बनाएको छ।
एकीकृत उत्पादन प्लाण्टनिम्बस उद्योगको एउटा अनौठो विशेषता भनेको त्यहाँ कुनै पनि एउटा कच्चा पदार्थ आएमा त्यसबाट आउने कुनै पनि उपज खेर जाँदैन। अर्थात् उद्योगले सबैको तयारी वस्तुको रूपमा उत्पादन गर्ने गरेको छ।
जस्तो तोरीबाट तेल निकाल्छ त्यसबाट आउने पिना दाना उत्पादनमा प्रयोग हुन्छ। अर्थात् यहाँबाट कुनै पनि औद्योगिक ‘वेस्टेज’ जाँदैन। त्यस्तै, भटमास त्यही लागू हुन्छ।
किसानलाई वेयर हाउस बनाइदिंदै निम्बससबै प्रकारका खाद्य वस्तु प्रशोधन गर्ने लक्ष्य लिएको निम्बसले हाल ७० प्रतिशत कच्चा पदार्थ स्वदेशकै प्रयोग गरिरहेको छ। अन्य खाद्यवस्तुको उत्पादन गर्न कच्चा पदार्थ देशभित्रकै प्रयोग गर्न आन्तरिक उत्पादनमा सहयोग गर्ने रणनीति लिएको छ।
त्यसका लागि देशका कृषि उत्पादन हव सहरहरूमा किसनको लागि वेयर हाउस निर्माणको प्रक्रिया कम्पनीले अगाडि बढाएको छ।
विराटनर,वीरगंज र भैरहवामा त्यस्ता वेयर हाउस निर्माणको लागि जग्गा खरीदको प्रक्रिया अघि बढीसकेको प्रबन्ध निर्देशक बगरियाले जानकारी दिए।
त्यसरी निर्माण हुने वेयर हाउसमा किसानहरूले धान, गहुँ, मकै तथा अन्य कृषि उत्पादन सुरक्षित भण्डारण मात्र होइन आफ्नो अनुकूलमा विक्री गर्न पनि पाउनेछन्।
निम्बसले बनाइदिने वेयर हाउसमा राखिएको अन्नलाई धितो राखेर किसनहरूले ऋण पनि लिन पाउने बगरियाको भनाइ छ।
‘आधुनिक प्रविधिको त्यस्तो वेयर हाउसमा किसानले भण्डारण गरिसकेपछि मूल्य बढेको समयमा किसानले विक्री गर्न सक्छन्’ उनले भने,‘यसबाट किसानहरूलाई जति उत्पादन भएपनि विक्री नभएर खेर जाने वा सस्तोमा विक्री गर्नै पर्ने अहिलेको जस्तो बाध्यताको अन्त्य हुनेछ।’
निकट भविष्यमै प्रशोधित खाद्य वस्तु विदेश निर्यात गर्न सकिनेमा विश्वस्त बगरिया यसपछि आन्तरिक उत्पादन बढ्नेमा आशावादी छन्।