मोरङका गाउँमा सिरक बनाउँदै पैसा कमाउँदै भारतीय मजदुर


एकातिर मोरङका युवा वैदेशिक रोजगारीमा पसिना बगाइरहेका छन् भने अर्कोतिर यहाँका गाउँ गाउँमा भारतीय मजदुर सिरक, डसना बनाएर यहीँ पैसा कमाइ रहेका छन् ।

यसअघि घरेलु सामग्री (धुनिया) बाट रुवा फिट्दै आएका मजदुर अचेल सुती कपडालाई रुवा बनाउने मेसिन ट्र्याक्टरमा सँगै लिएर हिँड्न थालेका छन् ।

मोरङका प्रत्येक गाउँमा सडक किनारामा बसेर उनीहरू टोली बनाई दैनिक  १५ हजारभन्दा बढी कमाउने गरेका छन् । मोरङको कानेपोखरी–७ मा भेटिएका फिरोज आलम एक महिनायता घुम्तीरुपमा सिरक डसना बनाउँदै  हिडिरहेका छन्।

भारतको मोतिहारी स्थायी घर बताउने आलमको टिममा थप सातजना कामदार छन् । ट्र्याक्टरमा सुतीका थोत्रा कपडा मिक्सिङ गरेर (फिटेर) रुवा बनाउने मेसिन लिएर हिँडेको उनीहरूको टिमले दैनिक  १५ हजारभन्दा बढी कमाइ गर्दै आएको छ ।

अझ रोचक कुरा त उनीहरूले भारतबाटै सिरक, डसना र सिरानीका पल्ला र खोलसमेत लिएर आउने गरेका छन् । सियो, धागो नेपालमा उत्पादन हुँदैन, त्यसैले सियो धागो पनि उतैबाट ल्याउने गरेको फिरोजले बताए।

सुतीका साडी, सिरकका खोल, सुतीका सबैखाले पुराना कपडा मिसिनमा हालेपछि रुवा भएर निस्कन्छ । त्यसैबाट डसना र सिरानी बनाउनेको लर्को लागेको स्थानीय मीरा खड्काले बताइन्।

दैनिक १५ हजार कपडा फिटेको र डसना सिलाएबापत प्राप्त रकम थोरै हुने बताए पनि सिरक डसनाको पल्ला र खोल बेच्दा थप  पाँच हजार आम्दानी हुने फिरोजको भनाइ छ । ट्र्याक्टर भाडा र इन्धन खर्चमा  चार हजार खर्च हुन्छ । कपडा फिटेको प्रतिकेजी  २५ र सिलाएको १० केजीसम्मको सिरक डसनाको  ५०० ज्याला लिने गरेको उनले बताए।

सिरक डसना छाप्नेमात्र होइन, मौसमअनुसारका घरायसी सामग्री साइकलमा बोकेर गाउँगाउँ घुम्ने भारतीयको संख्या दुई हजार ५०० भन्दा बढी रहेको भारतको पूर्णियाबाट व्यापार गर्न अाएका साकिर हुसैनको भनाइ छ ।

एउटा साइकलमा झण्डै ५० प्रकारका घरायसी भान्साका सामानदेखि लुगाफाटोसम्म बोकेर गाउँगाउँ हिँड्ने उनीहरू दैनिक  ८०० सम्म कमाइ हुने बताउँछन् । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.