नेप्से २१ अंकले खस्कियो, ५६ करोडको कारोबार


मंगलबार सेयर बजारको परिसूचक नेप्से २१ अंकले ओर्लिएको छ। सो अंकको गिरावटपछि नेप्से १५०२ अंकमा कायम भएको छ।

कारोबार बन्द हुनुभन्दा १५ मिनेटअगाडि नेप्से १५ सयभन्दा मुनि १४९९ मा झरेको थियो। अन्तिम १५ मिनेटमा तीन अंकले नेप्सेमा सुधार आए पनि अन्ततः अघिल्लो दिनभन्दा २१ अंकले घट्न पुग्यो।

कारोबार रकममा उल्लेख्य कमी आएको छ। यस दिन १५३ कम्पनीको ५६ करोड ९८ लाखको कारोबार भयो। यस दिन अन्य र उत्पादनबाहेक सबै समूह ओर्लिएका छन्। अन्य समूह २ अंकले बढ्यो भने उत्पादन समूह स्थिर रह्यो।

बिमा सबैभन्दा धेरै १८५ अंकले घटेको छ। बैंकिङ १८, होटल ४२, विकास बैंक २९, जलविद्युत १५ र फाइनान्स समूह १४ अंकले झरे। कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको ३ करोड ५२ लाखको कारोबार भयो। सस्तो मूल्यमा कम्पनीको सेयर उठाउनेहरु बढ्दा उसको कारोबार उच्च भएको हो।

त्यस्तै समायोजित मूल्यमा नविल बैंकको सेयर किनबेच गर्नेहरु पनि धेरै भए। जसले गर्दा १ करोड ९२ लाखको उसको कारोबार भयो। आजको कारोबार बन्द हुँदा भने उसको समायोजित मूल्य पनि घटेर प्रतिकित्ता ११९४ कायम भएको छ। नविलको साधारण सेयरको मूल्य १२५४ मा समायोजन भएको थियो।

१ करोड ८८ लाखको कारोबार भएको सानिमा बैंकले साधारणसभाका लागि बुक क्लोजको मिति असोज ६ गतेलाई तोकेको छ। १६ प्रतिशत बोनस सेयरको घोषणा गरेको कम्पनीको मूल्य आजको कारोबारपछि ३८९ कायम भयो।

बजारमा आएको ठूलो गिरावटका बाबजुत युनाइटेड र प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले भने साढे ९ प्रतिशत बढी नाफा कमाए। कामना सेवा विकास बैंकको मूल्य ९ प्रतिशतले नै घट्यो। कामना र सेवा विकास बैंक मर्ज भई आजबाटै उसको कारोबार खुलेको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.