बिहीबार सेयर बजार परिसूचक ६ प्रतिशतले घटेर २५११ विन्दुमा आएपछि केही लगानीकर्ताहरूले धितोपत्र बोर्ड अगाडि नाराबाजी गरेका छन्।
लगानीकर्ताका अलग–अलग समूहले अलग अलग माग समेत राखेका छन्।
लगानीकर्ताहरूको एक समूहले चार बुँदे माग पनि राखेका छन्। उनीहरूले सेयर बजारमा २ बजेर ४५ मिनेटदेखि तीन बजेसम्मको कारोबारको आधारमा औसत निकालेर बजारको बन्द विन्दु कायम गर्ने व्यवस्था हट्नुपर्ने, बैंकहरूलाई बिना रोकटोक सेयर बजारमा लगानी गर्न दिनुपर्ने माग राखेका छन्।
त्यस्तै, सेयर धितो ऋणमा रहेको प्रति ग्राहक २५ करोडको कर्जा सीमा हटाउनुपर्ने, कर्मचारीहरूलाई वार्षिक बोनसको रूपमा दिइने बोनस रकम नगदमा मात्रै नभएर बोनस सेयरको रूपमा समेत दिनुपर्ने माग उनीहरूले गरेका छन्।
अन्य कतिपयले भने धितोपत्र बोर्ड लगायतमा स्वच्छ छवी भएका व्यक्ति आउनुपर्ने, बोर्डका बरिष्ठ कर्मचारीहरूमा सक्षम व्यक्ति ल्याउनुपर्ने, विभिन्न पक्षलाई समेटेर पुँजी बजार सुधार कार्यदल गठन हुनुपर्ने लगायतका माग राखेका छन्।
त्यस्तै, लगानीकर्तालाई आश्वास्त पार्न अर्थमन्त्रीबाट सम्बोधन हुनुपर्ने लगायतका माग गरेका छन्।
