नेप्से सुधार कार्यदलले पुँजी बजार सुधारको लागि आवश्यक कदम चल्न विभिन्न सुझाव दिएको छ। कार्यदलले तत्काल, मध्यकाल र दीर्घकालमा गर्नुपर्ने विभिन्न सुझाव दिएका हुन्।
गत शुक्रबार अर्थमन्त्री रामेश्वर खनालले पुँजी बजार सुधारको लागि चार सदस्यीय कार्यदल गठन गरेका थिए।
नेपाल धितोपत्र बोर्डको कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसी संयोजक रहेको कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेप्सेका कामु नायब प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य थिए।
कार्यदलले पुँजी बजार तत्काल गर्न सुधार दिएको सुझाव यस्ता छन्ः
- बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक सीमा २५ करोड रूपैयाँलाई हटाउने
- बैंक तथा वित्तीय संस्थाहरूले सूचीकृत संगठित संस्थाको सेयर तथा ऋणपत्रमा एक बर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाउने व्यवस्था खारेज गर्ने
- सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको २०८२ आसोज मसान्तसम्म बुझाउनुपर्ने ब्याज पुस मसान्तसम्म बुझाएमा कुनै पनि थप जरिवाना नलाग्ने व्यवस्था गर्ने
- धितोपत्र दलाल व्यावसायी मार्फत मार्जिन कारोवार प्रणाली कार्यान्वयन गर्ने
- सिडिएस तथा क्लियरिङबाट प्रदान गरिने आइएसआइएन नम्बर सम्बन्धमा एकरूपता कायम गर्न निश्चित मापदण्ड तय गरी लागु गर्ने
- हाल प्रचलनमा रहेको नेप्से सूचकांकलाई अल इक्विटी इन्डेक्सको रूपमा कायम राख्ने र कारोवार योग्य सेयरहरूको आधारमा नयाँ सूचकांक विकास गरी त्यसलाई मुख्य बेन्च मार्क सूचकांकको रूपमा प्रयोग गर्ने र सोही आधारमा सर्किट ब्रेकरको नियम पुनरावलोकन गर्ने
- गैर व्यवसायिक सेयर बिक्री गर्दा नाफामा लाग्ने पुँजीगत लाभकरलाई अन्तिम करको रूपमा रहेको व्यहोरा स्पष्ट गर्ने
- सेयर बिक्री कारोवारमा दाखिला गरेको करको आधारमा प्राप्त हुनुपर्ने कर चुक्ता प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियालाई सहजीकरण गर्ने
- संगठित संस्थाले लगानीकर्तालाई प्रदान गर्ने बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित संगठित संस्थाले नै मिलान गरी भुक्तानी गर्नुपर्ने व्यवस्था गर्ने
- धितोपत्र दलाल व्यवसायीले लगानीकर्ताले समयमै खरिद आदेश बमोजिमको रकम भुक्तानी गर्न नसकेमा वा धितोपत्र दलाल व्यावसायीले समयमा लगानीकर्तालाई भुक्तानी गर्न नसकेमा उक्त रकमबाट सृजित दायित्व वा प्रतिफल भुक्तानी सम्बन्धी व्यवस्थामा एकरूपता कायम गर्ने
- लगानीकर्ताले दुई वा सो भन्दा बढी हितग्राही खाता खोल्न सक्ने व्यवस्था गर्ने
- नेपाल स्टक एक्सचेन्जले सूचीकृत कम्पनीहरूको वित्तीय सबलता, तरलता तथा संस्थागत सुशासनको अवस्थाका आधारमा गर्ने वर्र्गीकरण वस्तुनिष्ठ बनाउने तथा उक्त वर्गीकरण पश्चात जेड (सबैभन्दा कमसल भनेर तोकिएका) समूहमा पर्ने कम्पनीहरूको कारोवार गर्दा शतप्रतिशत नगद मार्जिन लिनुपर्ने व्यवस्था गर्ने
- लगानीकर्ताको समस्या तथा गुनासो तत्काल सम्बोधनका लागि आवश्यक गुनासो व्यवस्थापन संयन्त्रको स्थापना गरी सञ्चालनमा ल्याउने
- धितोपत्र सम्बन्धी कसुरको जाँचबुझ समयमा प्रभावकारी ढंगले सम्पन्न गर्न संयन्त्रको स्थापना गरेर सञ्चालनमा ल्याउने
- धितोपत्र सम्बन्धी कसूरको जाँचबुझ समयमा प्रभावकारी ढंगले सम्पन्न गर्न संयन्त्रको स्थापना गर्ने
- लगानीकर्ताहरूमा पुँजी बजार सम्बन्धि साक्षरताको लागि विभिन्न प्रशिक्षण तथा कार्यशाला गर्ने