अहिले लगानी गर्दा पनि १० वटा कम्पनीहरूबाट लगानीकर्ताहरूले तत्कालै लाभांश पाउने भएका छन्।
यी कम्पनीहरू लाभांश घोषणा गरिसकेका तर बुक क्लोज मिति आइनसकेको वा नतोकेकाहरू हुन्। मंगलबार नै लगानी गर्नेले युनिभर्सल पावर र कामना विकास बैंकबाट लाभांश पाउने भएका छन्।
यी कम्पनीको असोज आठ गते बुधबारको लागि बुक क्लोज मिति तोकिएको छ। सात गतेसम्म कम्पनीमा सेयर स्वामित्व हुने यी कम्पनीको सेयर पाउनेछन्।
युनिभर्सल पावरले ९ प्रतिशत बोनस र ०.४७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। कामना विकास बैंकले १० प्रतिशत बोनस सेयर र ५.७८९ प्रतिशत नगद दिने भएको हो।
त्यस्तै, बाँकी आठ वटाले लाभांश घोषणा गरेपनि बुक क्लोज मिति तोकिसकेका छैनन्।
सिकलेस हाइड्रोपावर कम्पनीले १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ। मिड सोलु हाइड्रोपावरले पनि १५ प्रतिशत बोनस र ०.७८ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ।
एभरेष्ट बैंकले ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ६.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।
नेपाल ल्युब आयल लिमिटेडले २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। अरुण भ्याली हाइड्रोपावरले ८ प्रतिशत बोनस र ०.४२१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
मुक्तिनाथ विकास बैंकले १३.५३ प्रतिशत बोनस सेयर र ४.६७ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ। सानिमा बैंकले ७.३६८५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।