असोज २ गतेसम्म सेयर बजार बन्द हुने भएको छ।
नेपाल स्टक एक्सचेन्जले एक सूचना सार्वजनिक गर्दै असोज २ गतेसम्म सेयर बजार बन्द हुने जानकारी दिएको हो।
धितोपत्र ऐनले बोर्डको निर्देशनमा बढीमा पाँच दिनलाई सेयर बजार बन्द गर्न सक्ने व्यवस्था गरेको छ। यसै आधारमा नेप्सेले भदौ २९ देखि असोज २ गतेसम्म कारोबार रोक्का गर्ने नयाँ निर्णय गरेको हो।
यसअघि प्रदर्शनकै कारण २५ र २६ गते पनि बजार बन्द गरिएको थियो।
सेयर लगानीकर्ताहरूले भने सेयर कारोबार अस्थायी रूपमा स्थगित गर्न आग्रह गरिरहेका छन्।
भदौ २३ र २४ गतेको प्रदर्शनको कारण आम नागरिक लगानीकर्ताको मनोबलमा गम्भीर असर पारिरहेको भन्दै सेयर लगानीकर्ता संघहरूले संयुक्त विज्ञप्ति जारी गरेर कारोबार रोक्न माग गरेका हुन्।
सेयर लगानीकर्ता संघ, नेपाल पुँजीबजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघले यस्तो माग गर्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका हुन्।
'विपत्तिको प्रकृति नै संवेदनशील हुँदैछ। सानो संकेत वा आशंकाले पनि सामूहिक रूपमा ठूलो असर पर्न सक्छ। अझै हाल देखिएको भय र अनिश्चितताले लगानीकर्ताहरूलाई विवेकपूर्ण निर्णय गर्न असमर्थ बनाइदिएको छ। यसका परिणामस्वरूप अनावश्यक बिक्री चाप आउने र सानो कारोवारले बजार असामान्य रूपमा घट्न सक्ने विगतका घटनाले पुष्टि गरिसकेको छ', प्रेस विज्ञप्तिमा भनिएको छ।
लगानीकर्ताले राजनीतिक स्थायित्व पुनःस्थापना नभएसम्म तथा आर्थिक गतिविधिहरू सहज बन्ने अवस्था पछि मात्रै कारोबार सञ्चालन गर्ने व्यवस्था मिलाइदिन अनुरोध गरेका छन्।
लगानीकर्ताले यसअघि निरन्तर उठाएका माग तथा सुधारका बुँदाहरूलाई पनि कार्यान्वयन गर्न समेत बोर्डलाई अनुरोध गरेका छन्।