धितोपत्र बोर्डका पूर्व अध्यक्ष रमेश हमालको लगानी रहेको दुसित थानी हिमालयन रिसोर्टले आइपिओ जारी गर्ने भएको छ।
होटलले अंकित मूल्य सय रूपैयाँको दरमा २० प्रतिशत सेयर जारी गर्ने उदेश्य राखेको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ।
ओमस्टोन एसिया क्यापिटल नेपालले यो होटल सञ्चालन गरिरहेको छ भने अन्तर्राष्ट्रिय ब्रान्ड दुसित थानीले यसको व्यवस्थापन सम्हालिरहेको छ।
हाल १० वर्षको लागि व्यवस्थापनको जिम्मा लिएको थानीले थप १० वर्ष व्यवस्थापन गर्न सक्ने गरी सम्झौता भएको छ।
ओमस्टोन एसिया क्यापिटलमा हमालसहित भारतीय मुलका दुवईमा रहेका व्यवसाय गरिरहेका विष्ण मोरको समेत मुख्य लगानी छ।
धुलिखेलमा सञ्चालनमा रहेको यो पाँच तारे होटलको निर्माण लागत करिब साढे दुई अर्ब छ। प्रतिकोठा लागत चार करोड ३० लाख रूपैयाँ देखिएको रेटिङ कम्पनीले उल्लेख गरेको छ।
पूर्ण तयारी हुँदा ५४ कोठाको होटल हुने बताइएको छ। होटलको करिब ६८ प्रतिशत लगानी ऋणबाट जुटाइएको छ।