सेयर बजार परिसूचक नेप्से डेढ महिनायताकै न्यून विन्दुमा आइपुगेको छ।
बुधबार बजार बन्द हुँदा १५.६४ घटेर नेप्से २७२६ विन्दुमा आइपुगेको हो। गत असार ३० गते नेप्से २७२५ सम्म पुगेको थियो।
त्यसयता पहिलोपटक नेप्से अहिलेको विन्दुमा आएको हो। सो समय नेप्से बढ्दै ३००२ विन्दुसम्म पुगेको थियो।
नेप्सेले सम्भवतः २७ सय विन्दुमा टेवा परिक्षण गर्ने देखिन्छ। यसमा सफल नभएमा भने बजार थप घट्न सक्छ।
बुधबार भने कारोबार रकममा झिनो सुधार देखिएको छ। तरपनि पाँच अर्ब रूपैयाँ भने कट्न सकेको छैन।
मंगलबार चार अर्ब ४३ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार चार अर्ब ७२ करोड रूपैयाँको सेयर किनबेच भएको हो।
यसदिन व्यापारमूलक समूह र सामूहिक लगानी कोष समूहमा मात्रै सुधार आएको छ। यी समूहगत परिसूचक क्रमशः ०.०७ र ०.२२ प्रतिशतले बढेको छ।
होटल र जलविद्युत समूहगत परिसूचक सबैभन्दा धेरै करिब एक प्रतिशतले घटेका छन्।
कारोबारमा आएका तीन सय २६ लगानी उपकरणमध्ये ७१ वटाको मूल्य बढेको छ भने दुई सय ४० वटाको मूल्य घटेको छ।
बाँकीको मूल्य स्थिर छ।
केही दिन अघि सूचीकरण भएको हिमस्टारको सेयर मूल्य सबैभन्दा धेरै करिब १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ।
लिबर्टी इनर्जीको मूल्य सबैभन्दा धेरै ६.९९ प्रतिशतले घटेर दुई सय १८ रूपैयाँमा सीमित भएको छ।
युनियन हाइड्रोपावरको सबैभन्दा धेरै ३३ करोड रूपैयाँको सेयर कारोबार भएको छ।