बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरूलाई आजबाट आइपिओ निष्कासन गरेको छ।
कम्पनीले तनहुँ र गोरखा जिल्लाका आयोजना प्रभावित स्थानीयहरूका लागि पाँच लाख ६६ हजार कित्ता सेयर र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पाँच लाख २९ हजार चार सय कित्ता सेयर निष्कासन गरिरहेको हो।
आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि गरिएको सार्वजनिक निष्कासन साउन २० गतेसम्म खुला रहनेछ। यदि सो अवधिमा पुरै सेयर बिक्री नभए भदौ ४ गतेसम्म खुला हुनेछ।
तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका, आबुँ खैरेनी गाउँपालिकाका सबै वडाहरू, भानु नगरपालिका वडा १ र गोरखा जिल्लाको पालुङटारनगरपालिका वडा ७ का बासिन्दाले आवेदन दिने पाउँनेछन्।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन्। यो अवधिमा छुट्याइएको सेयर पूरै बिक्री नभए भदौ २० गतेसम्म खुला रहनेछ।
आवेदकहरूले प्रतिकित्ता एक सय रूपैयाँको दरमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पुँजी दुई अर्ब ८३ करोड छ। यसमध्ये २०.७०६७ प्रतिशत अर्थात् ५८ लाख ६० हजार कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिनेछ।
कुल निष्कासनको दुई प्रतिशत आयोजना प्रभावित र बाँकी १८.७०६७ प्रतिशतमध्ये त्यसको १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको हो।
कम्पनीको सेयर निष्कासन व्यवस्थापक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड हो।
केयर रेटिङ नेपालले बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेडलाई बिबी(आइएस) रेटिङ दिएको छ। कम्पनीले समयमा वित्तीय दायित्वहरू पूरा गर्न सक्ने आधारमा हेरिएको जोखिम सूचकले मध्यम अवस्था रहेको जनाउँछ।
२०७० सालमा प्राइभेट लिमिटेड कम्पनीको रूपमा बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेड स्थापना भएको थियो। पछि पब्लिक कम्पनीमा रूपान्तरण भएको यस कम्पनीले तनहुँ जिल्लाको बन्दीपुरमा केबलकार तथा होटल सञ्चालन गर्न लागिरहेको छ।
राष्ट्रिय योजना आयोगले यस परियोजनालाई ‘राष्ट्रिय प्राथमिकता प्राप्त परियोजना’ को सूचीमा राखेको छ।