सेयर बजारलाई राहत मौद्रिक नीति आएसँगै नेप्सेमा उच्च अंकको वृद्धि देखिएको छ।
राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति ल्याएपछिको पहिलो कारोबार दिन आइतबार नेप्से २९ अंकले बढेर २७६०.८० विन्दुमा बन्द भएको छ।
लगानीकर्ताहरू उत्साहित देखिएपछि कारोबार सुरू भएको केही समयमै नेप्से उच्च अंकले बढेर २८ सय विन्दु हाराहारी पुग्यो। तर, नेप्से केही समयपछि भने स्वभाविक लयमा गयो।
विशेष गरेर मौद्रिक नीतिमा आएको चार व्यवस्थाले बजारमा सकारात्मक प्रभाव पार्ने देखिएको छ।
मौद्रिक नीतिले एकल ग्राहकको सेयर धितो कर्जा सीमा १५ करोडबाट बढाएर २५ करोड पुर्याएको छ।
दोस्रो, बैंकहरूले अब आवश्यकता अनुसार राष्ट्र बैंकको स्वीकृतिमा पुँजी बढाउन पाउने भएका छन्।
यस्तै, ब्याजदर करिडोरको माथिल्लो सीमालाई ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत र ब्याजदर करिडोरको तल्लो सीमालाई तीन प्रतिशतबाट घटाएर २.७५ प्रतिशत बनाएको छ।
यस्तै, मौद्रिक नीतिले लघुवित्त वित्तीय संस्थाहरूलाई हाल लाग्दै आएको लाभांश सीमामा पुनरवलोकन गर्ने भएको छ।
यसदिन कारोबार रकम पनि बढेको छ।
बिहीबार नौ अर्ब ६८ करोड रूपैयाँको कारोबार भएकोमा आइतबार ११ अर्ब ४१ करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब ७३ करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३११ वटा धितोपत्रको तीन करोड २५ लाख ९२ हजार ३० कित्ता सेयर किनबेच भएको हो।
आइतबार १५८ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० वटाको घटेको छ।
यसदिन एनआइसी एसिया बैंकको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४०५ रूपैयाँ ४० पैसा कायम भएको छ।
यस्तै, खानीखोला हाइड्रोपावरको मूल्य पनि ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २९१ रूपैयाँ पुगेको छ।
हिमालयन हाइड्रोपावरको मूल्य सर्वाधिक ९.९३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३५७ रूपैयाँ २१ पैसामा झरेको छ।
यसैगरी, राप्ति हाइड्रोको मूल्य ७.३४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३३१ रूपैयाँ ४१ पैसा कायम भएको छ।
आइतबार एनआइसी एसिया बैंकको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता दुई हजार ४०५ रूपैयाँ ४० पैसामा ३७ करोड १४ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ९.९९ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा बुटवल पावर कम्पनी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८३० रूपैयाँ ८० पैसामा ३२ करोड ८५ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकी सात समूहको परिसूचक बढेको हो।
यसदिन लघुवित्त समूहको परिसूचक सर्वाधिक ३.५० प्रतिशतले बढेको छ।