बुधबार नेप्से परिसूचक उच्च अंकले बढेको छ।
यसअघि गत फागुन १८ गते नेप्से ७५ अंकले बढेको थियो। सो पछि आज नेप्से उच्च अंकले बढेको हो।
नप्से ६२.२५ अंकले बढेर २६७३.६९ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम पनि बढेको छ।
मंगलबार आठ अर्ब ७४ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार १० अर्ब ५१ करोडको कारोबार भएको छ।
कुल कारोबारमध्ये जलविद्युत कम्पनीहरूको मात्रै सात अर्बको सेयर किनबेच भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ७७ करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३०८ वटा धितोपत्रको दुई करोड ७२ लाख ४५ हजार ४५९ कित्ता सेयर किनबेच भएको हो।
बुधबार २२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ वटाको घटेको छ। यस्तै एउटा कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन पाँच कम्पनीको मूल्य सर्किट लेभलमा बढेको छ।
नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत, बुटवल पावर कम्पनी र ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य ९.९९ प्रतिशत र पिपुल्स हाइड्रोपावरको मूल्य ९.९८ प्रतिशतले बढेको छ।
बुधबार न्यादी हाइड्रोपावरको मूल्य सर्वाधिक ४.४३ प्रतिशतले घटेर प्रतिकित्ता ४८५ रूपैयाँ २० पैसामा झरेको छ।
यस्तै, लक्ष्मी भ्यालु फण्डको मूल्य ३.०२ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ६५ पैसा कायम भएको छ।
बुधबार सानिमा माइ हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ६३० रूपैयाँ ५० पैसामा ५९ करोड २० लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.६५ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३८९ रूपैयाँमा ५४ करोड ७९ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ५.५५ प्रतिशतले बढेको छ।