सोमबार पनि नेप्से परिसूचक घटेको छ।
गत साताको साेमबारदेखि घट्ने क्रममा रहेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो।
नेप्से ९.६२ अंकले घटेर २६१०.७६ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम पनि घटेको छ।
आइतबार नौ अर्ब २४ करोडको कारोबार भएकोमा सोमबार सात अर्ब ६३ करोडको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ६१ करोड रूपैयाँ कमी आएको हो।
आज ३१९ वटा धितोपत्रको एक करोड ८४ लाख ३७ हजार ९४२ कित्ता सेयर किनबेच भएको हो।
सोमबार ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ वटाको घटेको छ। यस्तै एक कम्पनी स्थिर रहेको छ।
सोमबार चार धितोपत्रको मूल्य सर्किट लेभलमा बढेको छ।
नेपाल माइक्रो इन्स्योरेन्स, ओम मेगाश्री फर्मास्युटिकल्स र सिटिजन्स सुपर ३० म्युचुअल फण्डको मूल्य १० प्रतिशतका दरले बढेको छ भने क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य ९.९९ प्रतिशतले बढेको छ।
सोमबार हिमालयन पावर पार्टनरको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ५८१ रूपैयाँ ३० पैसामा झरेको छ।
यस्तै, रिभर फल्स पावरको मूल्य ७.९५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ५४५ रूपैयाँ ९० पैसा कायम भएको छ।
सोमबार राधी विद्युतको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ७०० रूपैयाँमा ७६ करोड पाँच लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ७.४२ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३६८ रूपैयाँमा ५५ करोड ६२ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको छ।
यसदिन व्यापार समूहको परिसूचक सर्वाधिक १.१३ प्रतिशतले घटेको छ।