नेपाल राष्ट्र बैंकले हालै बैंक तथा वित्तीय संस्थाहरूको गत आर्थिक वर्षसम्मको वित्तीय स्थिरताको अवस्था प्रतिवेदन सार्वजनिक गरेको छ।
यसले कर्जामा हुनसक्ने जोखिम, तरलता जोखिम, बजार जोखिम र सञ्चालन जोखिमको आधारमा बैंकहरूको अवस्था समेत सार्वजनिक गरेको थियो।
यदि वाणिज्य बैंकहरूको १५ प्रतिशत असल कर्जाको स्तर घट्यो र कमसल कर्जामा पुग्यो भने २० मध्ये ६ वटा वाणिज्य बैंकको पुँजी कोष पर्याप्तता अनुपात ११ प्रतिशतभन्दा तल पुग्ने देखिएको छ।
एक महिनासम्म भाका नाघेका कर्जा असल कर्जा मानिन्छ।
त्यस्तै, तीनदेखि ६ महिनासम्म भाका नाघेका कर्जालाई कमसल र ६ महिनादेखि एक वर्षसम्म भाका नाघेको कर्जालाई शंकास्पद कर्जा भनिन्छ।
एक वर्षभन्दा धेरै अवधिले भाका नाघेका कर्जालाई खराब कर्जा भनिन्छ।
यदि पाँच प्रतिशत असल कर्जा बिग्रिएर खराब कर्जा भयो भने यसरी पुँजी कोष पर्याप्पता अनुपात तोकिएको ११ प्रतिशतभन्दा कम हुने बैंकको संख्या ९ पुग्नेछ।
यस्तो अवस्थामा बैंकको यस्तो अनुपात ८.५ प्रतिशतसम्म पुग्न सक्नेछ।
यस्तो पुँजी कोष अनुपात घटेमा लाभांश वितरणमा रोक लगायतका कारबाही हुन्छ।
तर यदि १५ प्रतिशत कमसल कर्जा शंकास्पदमा परिणत भयो र २५ शंकास्पद कर्जा खराब कर्जामा परिणत भयो भने पनि कुनै बैंकको पुँजी कोष अनुपात भने तोकिएको तहभन्दा घट्ने देखिदैन।
एकैदिन कति निक्षेप झिकिए बैंकलाई समस्या पर्छ?
यदि पाँच दिनसम्म ग्राहकहरूले बैंकमा रहेको निक्षेपमध्ये दुईदेखि १० प्रतिशत बराबर रकम निकाले भने २० मध्ये एउटा वाणिज्य बैंकले त्यसपछि तत्काल रकम फिर्ता दिन नसक्ने अवस्था बन्छ।
यदि कुनै बैंकको मुद्दती निक्षेपबाहेकको खातामा रहेको १५ देखि २० प्रतिशत बचत रकम निकालियो भने एउटा वाणिज्य बैंकलाई यस्तै समस्या पर्नेछ।
बैंकबाट २० प्रतिशत बराबरको निक्षेप रकम झिकिएका १५ बैंकलाई समस्या पर्नसक्छ।
अध्ययनले बैंकहरू निक्षेप संकलनमा केही सीमितमा केन्द्रीकृत भइरहेको समेत अध्ययनमा देखिएको थियो।
कुनै दुई बैंकका दुई संस्थागत निक्षेपकर्ताले आफ्नो निक्षेप झिकेको अवस्थामा ती बैंकलाई समस्या पर्ने अध्ययनमा देखिएको छ।
राष्ट्र बैंकले बैंकहरूको नाम भने सार्वजनिक गर्दैन।
आफ्ना तीन ठूला संस्थागत निक्षेपकर्ताले रकम झिक्दा तीन बैंकलाई तरलताको समस्या पर्ने पाइएको छ। त्यस्तै, पाँच वटा संस्थागत निक्षेपकर्ताले रकम झिक्दा सात बैंकलाई समस्या पर्नेछ।
वाणिज्य बैंकहरूलाई ब्याजदर र विनिमय दरमा आउने परिवर्तनले खासै समस्या नपर्ने देखिएको छ। तर, सेयर बजारमा हुने उतारचढावको प्रभाव पर्न सक्ने अध्ययनले देखाएको छ।
हुनतः वाणिज्य बैंकहरूको सेयरमा लगानी खासै धेरै छैन। तर, यदि उनीहरूले लगानी गरेको सेयरको मूल्य ५० प्रतिशतसम्म घट्यो भने तीन बैंकको पुँजी कोष पर्याप्तता अनुपात ११ प्रतिशतभन्दा मुनि आउँछ।
यदि बैंकहरूको कुल आम्दानी २० प्रतिशतले घटेमा दुई बैंकको र यस्तो आम्दानी ५० प्रतिशतले घटेमा १० बैंकको पुँजी कोष अनुपात तोकिएकोभन्दा कम हुनेछ।