केही समय अघि एक कम्पनीको एकैदिन दुई अर्ब बढी रूपैयाँको सेयर कारोबार भयो।
न्यून चुक्ता पुँजी रहेको सो कम्पनीको एकैदिन ठूलो रकमको कारोबार हुँदा यसले बजारमा तरंग ल्यायो।
एक बराबर एक अनुपातको हकप्रद सेयर दिएको कम्पनीको सेयर नेप्सेमा हालै मात्र सूचीकृत भएको थियो।
त्यसलगत्तै गत महिना अन्त्यमा कम्पनीको लकिङ अवधि पनि सकियो। यसले पनि सेयरको आपूर्ति बढ्न सहयोग पुग्यो।
स्थानीय बासिन्दा, संस्थापक र कर्मचारीको स्वामित्वमा रहेको सेयर प्राथमिक सेयर निष्कासन (आइपिओ) जारी गरेको तीन वर्षसम्म लकिङ पिरियडमा राखिएको हुन्छ।
यो अवधि सकिएपछि बजारमा कारोबार योग्य सेयर संख्या बढ्छ।
बढेको बिक्री र घटेको मूल्य देखेर पनि धेरै सेयर किनबेच भएको हुनसक्ने पनि मानिएको छ।
एकाएक कम्पनीको सेयर कारोबार उच्च देखिएपछि धितोपत्र बोर्डले यस्तो कारोबारको जानकारी लिइरहेको प्रवक्ता निरञ्जय घिमिरेले बताए।
तर, कारोबार बढ्नुमा जे जस्ता कारण भए पनि कम्पनीको हकप्रद सेयर बिक्री भने अनौपचारिक रूपमा समेत भएको बजार स्रोत बताउँछ।
'आफूले किन्न नचाहेको हकप्रद सेयर बजार बाहिरै पनि किनबेच हुन्छ,' एक ब्रोकरले भने।
कसरी हुन्छ अनौपचारिक किनबेच?
सामान्यतः कम्पनीले हकप्रद दिने भएपछि सेयर बजारमा कम्पनीको मूल्य बढिरहेको हुन्छ।
बजारमा जति धेरै मूल्य भए पनि हकप्रद सेयर एक सय रूपैयाँको दरमा भर्न पाइन्छ। एक बराबर एक दिन लागेको कम्पनीको कुनै व्यक्तिसँग एक सय कित्ता सेयर छ भने उसले थप एक सय कित्ता सय रूपैयाँको दरमा नै पाउँछ।
बजारमा तीन सय रूपैयाँमा कारोबार भइरहेको कम्पनी छ भने भोलिको दिनमा हकप्रद सहित हुने दुई सय कित्ता सेयरको मूल्य त्यति रहिरहे लगभग ५० प्रतिशत जति नाफा हुन्छ।
मानौं, ५० रूपैयाँ मात्रै घट्यो भने पनि २५ प्रतिशतसम्म नाफाकै अवस्था रहन्छ। मूल्य बढ्यो भने त झन् धेरै नाफा।
तर, बजारमा तीन सय रूपैयाँमा कारोबार भइरहेको सेयर नकिनेसम्म हकप्रद भर्न पाइदैन। कतिपयले हकप्रद भर्न नचाहेकाहरूबाट केही बढी मूल्यमा अनौपचारिक रूपमा सेयर किनिरहेका हुन्छन्।
पछि नेप्सेकै कारोबार प्रणालीमा म्याचिङ कारोबार गरेपछि मात्रै खरिदकर्ताको नाममा सेयर आउने अवस्था बन्छ। यसरी उनीहरूले आफूहरूबीचको हिसाब मिलाएका हुन्छन्।
प्रायः थप लगानी गर्न मन नहुने वा नसक्ने अवस्था भएकाहरूले यस्ता सेयर बिक्री गर्छन्। अझ हकप्रद सेयर निष्कासन गर्नुअघि नै पनि कम्पनीका सञ्चालक लगायत आधारभूत सेयरधनीहरूले समेत आफूले लिनुपर्ने हकप्रद सेयर बराबरको रकम जम्मा गरिसकेपछि मात्र सर्वसाधारण समूहका सेयरधनीका लागि हकप्रद सेयर बिक्री खुला गर्नुपर्ने व्यवस्था छ।
सञ्चालक वा आधारभूत सेयरधनीले सेयर नकिन्ने देखिएमा अन्य लगानीकर्तालाई हक दिन सक्छन्।
यसलाई हक हस्तान्तरण वा राइट रिनाउन्स भनिन्छ। यसरी गरिने बिक्री बापतको रकम सर्वसाधारणको लागि हकप्रद सेयरको आवेदन खुल्नु अगावै बैंक खातामा जम्मा गरिसक्नु पर्ने व्यवस्था छ।
त्यस्तै, धितोपत्र दर्ता तथा निष्कासन नियमावलीले प्रभावित क्षेत्रका वासिन्दालाई बिक्री वितरण गरेको सेयर सार्वजनिक निष्काशन भएको, सेयरको बाँडफाँट भएको मितिले तीन वर्ष पूरा नभएसम्म अरू कसैलाई बिक्री वा हस्तान्तरण गर्न नपाईने व्यवस्था समेत गरेको छ।
हकप्रद जारी गर्नु अघिको यस्तो अड्कोको कारण पनि सञ्चालकहरूले नै यसरी खरिद गर्ने पक्षसँग पहिले नै अनौचारिक सम्झौता गरिरहेको पाइने ब्रोकरहरू बताउँछन्।
यस्तो अनौपचारिक कारोबारबाट बिक्रीकर्तालाई हुने मूल्य लाभमा भने कर छली भइरहेको ब्रोकरहरूको भनाइ छ।
तर, नामसारी गर्नै पनि नेप्सेको प्रणालीबाटै कारोबार हुने भएकोले यस्तो कारोबारमा कर छली भने नहुने दाबी नेप्सेको छ।
औपचारिक प्रक्रियाबाट हकप्रद सेयर बिक्री नभएको सेयर कम्पनीले नै लिलाम बिक्रीमा राख्छ।
लिलाम बिक्रीमा अंकित मूल्य एक सयभन्दा धेरै कसैले तिर्छ भने बढी भएको रकम पनि कम्पनीले नै पाउँछ। उदाहरणमा लिइएको कम्पनीको लिलाममा पनि तीन सय २२ रूपैयाँसम्म पनि हकप्रद सेयर बिक्री भएको थियो।
यसरी बढी पाएको मूल्यको आधारमा कर पनि कम्पनीले तिर्छ।