बजारमा सूचीकृत कम्पनी बलेफी हाइड्रोपावर कम्पनीको एकैदिन दुई अर्ब एक करोड रूपैयाँको सेयर कारोबार भएको छ।
तीन अर्ब चुक्ता पुँजी भएको यस कम्पनीको एकैदिन दुई अर्ब माथिको कारोबार भएको हो। कम्पनीको सेयर मूल्य भने ९.९ प्रतिशतले घटेर दुई सय २९ रूपैयाँमा कारोबार भएको छ।
तीन करोड ६५ लाख कित्ता सेयर भएको कम्पनीको ८६ लाख कित्ता सेयर कारोबारमा आएको छ।
यसरी सेयर संख्याको आधारमा यो कारोबार हालसम्मकै उच्च हो।
एकाएक यो कम्पनीको सेयर किन उच्चले कारोबार भयो?
कम्पनीको चैत २९ गते लकिङ अवधि सकिएकोले पनि सेयर कारोबार बढेको हो।
हालै मात्र कम्पनीले जारी गरेको एक बराबर एक अनुपातको हकप्रद सेयर १४ दिन अघि नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो। एक करोड ८२ लाख कित्ता सेयर बजारमा थपिएको थियो।
लकिङ पिरियड खुलेसँगै मूल्य घट्ने मान्यता रहेकोले पनि कम मूल्यमा हकप्रद किनेकाहरूले समेत बिक्री बढाएको हुनसक्ने मानिएको छ। एक करोड ६५ लाख कित्ता सेयरको लकिङ खुलेको हो।
कम्पनीको हकप्रद पूर्ण रूपमा बिक्री भएको थिएन।
सर्वसाधारण र संस्थापक समूहको करिब १७ लाख ९८ हजार कित्ता सेयर पछि बोलकबोल (अक्सन) को माध्यमबाट बिक्री भएको थियो।
बोलकबोलको क्रममा कम्पनीको सेयरको अन्तिम मूल्य दुई सय २६ देखि तीन सय २२ सम्म थियो।
स्थानीय बासिन्दा, संस्थापक र कर्मचारीको स्वामित्वमा रहेको सेयर प्राथमिक सेयर निष्कासन (आइपिओ) जारी गरेको तीन वर्षसम्म लकिङ पिरियडमा राखिएको हुन्छ।