एक वर्षको अवधिमा बजारमा उच्च उतारचढाव देखिए पनि अहिले माथिल्लो तहमै छ।
अघिल्लो वर्ष २०८० मा बजार बन्द हुँदा नेप्से परिसूचक २०२५ मा थियो।
गत वर्ष २०८१ अन्त्यमा नेप्से २६६२ सम्म आइपुगेको छ। यो अवधिमा नेप्से परिसूचक ६ सय ३७ अंकले बढेको छ।
यो अवधिको उच्च विन्दु ३०४८ विन्दुमा रहयो भने न्यून विन्दु १९५२ रह्यो।
नेप्सेमा भएको उतारचढावसँगै लगानीकर्ताहरूको सम्पत्तिमा पनि उच्च उतार चढाव देखियो। यसलाई बजार पुँजीकरणले देखाउँछ।
यो अवधिमा सुरूको बजार पुँजीकरण ३३ खर्ब एक अर्ब रह्यो। त्यसपछि बजार पुँजीकरण ४७ खर्ब ११ अर्बसम्म पुग्यो भने बजार घट्दा बजार पुँजीकरण ३९ खर्ब १८ अर्बसम्म आएको थियो। हाल भने ४४ खर्ब २५ अर्बमा सीमित भएको छ।
उच्च बजार पुँजीकरणको आधारमा लगानीकर्ताले हाल लगानीकर्ताले दुई खर्ब ८६ अर्ब गुमाएका छन् भने वर्ष सुरूको बजार पुँजीकरणको आधारमा लगानीकर्ताहरूको सम्पत्ति १२ खर्ब १३ अर्ब रूपैयाँले बढेको छ।
नेप्से परिसूचक करिब सात महिनादेखि २५ भन्दा तल ओर्लिएको छैन। यस आधारमा हेर्दा नेप्सेले यही विन्दुमा टेवा बनाएर बसेको छ।
अब के हुन्छ?
सामान्यतः चैत मसान्तदेखि नै सेयर बजारमा सुधार देखिने गर्दथ्यो। विशेषगरी सूचीकृत कम्पनीहरूको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक हुने समय नजिकिने भएकोले पनि चैतबाटै लगानीकर्ताहरूले सेयर खरिदारी बढाउथे।
किनभने तेस्रो त्रैमासको वित्तीय विवरणले कम्पनीहरूले वर्ष अन्त्यसम्ममा कस्तो नाफा कमाउँछन् भन्ने लख काट्न सजिलो हुन्थ्यो।
अहिले भने अवस्था अन्योल नै छ। विशेष गरेर सेयर बजारमा वर्चस्व रहेका वित्तीय क्षेत्रमा बढेको खराब कर्जा यसपटक पनि घट्ने सम्भावना कम नै देखिएको छ।
तर, यसको वृद्धिमा रोक लाग्ने अनुमान गरिएको छ। हालै नेपाल राष्ट्र बैंकले पनि निर्माण क्षेत्रमा गएको कर्जाको पुनर्संरचनाको लागि केही समय थप गरिदिएको छ। यसले पनि बैंकहरूलाई केही राहत हुने अनुमान छ।
बजारमा त्यसपछिको सबैभन्दा ठूलो क्षेत्र हो, जलविद्युत। यी क्षेत्रका केही कम्पनीहरू यसअघि नोक्सानमा रहँदै आएको भएपनि केही त्रैमासयता नाफामा देखिन थालेका छन्।
केहीमा यसअघिको बाढीले प्रभाव परेको छ। त्यसैले यसमा मिश्रित प्रभाव देखिन सक्छ। तर, अहिले धेरै जलविद्युत कम्पनीहरूले हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्वीकृतिको लागि धितोपत्र बोर्डमा गएका छन्।
हाल यो प्रक्रिया केही ढिलाइ भइरहे पनि यसले कम्पनीको सेयरमा आकर्षण बनाई नै राख्नेछ। कम पुँजीका यी कम्पनीहरूको मूल्यमा चलखेल भइरहने भएकोले अल्पकालीन लगानीकर्ताले लाभ लिन सक्ने अवस्था पनि बन्ने देखिन्छ।
अहिले पर्यटन क्षेत्रमा देखिएको सुधारले होटेल तथा पर्यटन क्षेत्रका कम्पनीहरूको सेयरमा समेत आकर्षण कायमै रहन सक्ने देखिन्छ।
शिथिल देखिएको निर्माण क्षेत्रमा केही सुधारको सम्भावना देखिन्छ। निर्माण सामग्रीको भाउ बढेकोले उनीहरूको यसअघिको नोक्सानी भरपाइ हुने सम्भावना छ।
पछिल्लो समय भारतबाट बिजुली आयत नै गरेर भएपनि औद्योगिक क्षेत्रमा समेत लोडसेडिङ अन्त्य भएको छ। यसले पनि यस्ता कम्पनीहरूको उत्पादन लागत घट्ने भएको छ।
बीमा कम्पनीहरूमा पनि केहीको चुक्तापुँजी पुग्न बाँकी छ। पुनर्बीमा कम्पनीहरूको समेत चुक्तापुँजी बढाउन थप समय दिइएको छ। यसले यो क्षेत्रका केही कम्पनीमा आकर्षण रहन सक्छ।
अन्य क्षेत्रमा कर्जा माग बढ्न नसकिरहेकोले बजारलाई बैंकिङ क्षेत्रमा रहेको पर्याप्त लगानी योग्य पुँजीको लाभ र न्यून ब्याजदरको लाभ केही समय कायम रहन सक्छ।
आर्थिक वर्ष अन्त्य हुँदै गर्दा सरकारी खर्चमा हुनसक्ने वृद्धि, निर्माण खर्चमा हुने वृद्धि र पछिल्लो समय आयातमा भइरहेको वृद्धिले यस्तो न्यून ब्याजदर वा लगानी योग्य पुँजीको लाभ धेरै समयलाई नरहन सक्छ।
यिनै कारणले बजारमा धेरै उत्साहित हुनुपर्ने अवस्था खासै देखिएको छैन भने निराश हुनुपर्ने अवस्था समेत छैन। यसले बजारलाई अहिले जस्तै केही समय निश्चित विन्दुबीच रहेर साइडवेज मुभमेन्टमा राख्ने सम्भावना छ।
पछिल्लो एक वर्षको उच्च, न्यून र अन्त्य विन्दुको आधारमा गरिएको पिभट विश्लेषणले आगामी वर्ष बजार बढ्न थाले पहिलो लक्ष्य ३१५६ र घट्न थाले पहिलो टेवा २०६० मा हुनेछ।
तर, यति लामो अवधिको तथ्यांक लिनुभन्दा केही अवधिको तथ्यांक लिनु ठिक हुन्छ। एक महिनाको तथ्यांकले भने पहिलो लक्ष्य २७४५ विन्दुमा र पहिलो टेवा २५७९ मा पाउने देखाउँछ।