चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा प्रत्यक्ष वैदेशिक लगानी (सेयर स्वामित्वको रूपमा लगानी) ५० प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आठ महिनाको मुलुकको वर्तमान आर्थिक अवस्था सम्पत्ति प्रतिवेदनले यस्तो देखाएको हो।
बैंकका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा प्रत्यक्ष वैदेशिक लगानी पाँच अर्ब ६३ करोड रहेकोमा चालु आर्थिक वर्षको यो आठ अर्ब ४९ करोड पुगेको हो।
गत आर्थिक वर्ष २०८०/८१ मा भने यसको वृद्धिदर उच्च थियो।
त्यसअघिको वर्ष तीन अर्ब ६ करोड वैदेशिक लगानी भित्रिएकोमा गत वर्ष ८३ प्रतिशतले बढेको थियो।
केही महिना अघि सरकारले लगानीमैत्री वातावरण निर्माण गर्नका लागि विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९, कम्पनी ऐन, २०६३, विशेष आर्थिक क्षेत्र ऐन, २०७३, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५, सार्वजनिक साझेदारी तथा लगानी ऐन, २०७५, औद्यौगिक व्यवसाय ऐन, २०७६ लगायत अन्य कानुनहरूमा संशोधन गरेको थियो।
यसले लगानीको वातावरण बन्दै जाने सरकारको अपेक्षा छ।