देशभर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका पीडितहरूमाथि सरकारले दमन गरेको भन्दै सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान अन्तर्गतको आन्दोलन केन्द्रीय समितिले सरकारी दमनको घोर विरोध गरेको छ।
सहकारी तथा वित्तीय संस्थाहरूमा लगानी डुबेपछि न्यायको माग गर्दै उनीहरू आन्दोलनरत छन्।
आन्दोलनकारीहरूले चैत २५ गते राष्ट्रपतिलाई र चैत २७ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए।
तर, कुनै पनि औपचारिक प्रतिक्रिया प्राप्त नभएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।
सार्वजनिक प्रतिक्रिया नआएपछि आन्दोलनकारीहरूले चैत २७ गते देशभरका १५ स्थानहरूमा राँके जुलुस आयोजना गरेका थिए।
शान्तिपूर्ण ढंगले सञ्चालित कार्यक्रममा सुरक्षाकर्मीहरूले काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट देव श्रेष्ठसहित १३ जनालाई र माइतीघर मण्डलाबाट ११ जना सहभागीहरूलाई पक्राउ गरेको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।
महासंघका अध्यक्ष कुशलभ केसीले पक्राउ परेका सबैलाई रातभर हिरासतमा राखी अमानवीय व्यवहार गरिएको बताएका छन्। उनले सरकारले मानवअधिकारको गम्भीर उल्लंघन गरेको दाबी गरे।
सरकारले आन्दोलनप्रति देखाएको दमनकारी प्रवृत्तिको विरोध गर्दै महासंघले तीनवटा मुख्य माग सार्वजनिक गरेको छ।
गिरफ्तार गरिएका सबै पीडितलाई बिना शर्त तुरुन्त रिहा गर्नुपर्ने, शान्तिपूर्ण आन्दोलनमा दमन नगरी वार्ताको माध्यमबाट समाधानको बाटो खोजिनुपर्ने र सरकारले पीडितहरूलाई न्याय दिने स्पष्ट कार्ययोजना सार्वजनिक गर्नुपर्ने माग उनीहरूको छ।