नेपालले क्युआर लगायतका माध्यमबाट अन्तर्देशीय भुक्तानी कारोबार सुरू गरेको एक वर्षमा एक अर्ब ७९ करोड रूपैयाँ भित्र्याएको छ।
२०८० फागुनबाट अन्तर्देशीय कारोबार सुरू गरिएको हो। यस वर्षसम्मको फागुनसम्मको १३ महिनाको अवधिमा एक अर्ब ७९ करोड रूपैयाँ भुक्तानी नेपालले पाएको हो। ६ लाख पाँच हजार तीन सय ३९ वटा कारोबारमार्फत् यस्तो भुक्तानी भएको हो।
यसरी व्यक्ति व्यक्ति तथा व्यक्ति र मर्चेन्ट (वस्तु तथा सेवा बिक्रेता) बीच क्युआर मार्फत् भुक्तानी गर्न सकिन्छ। विशेष गरेर नेपाल भ्रमणमा आउने पर्यटकहरूबाट यसरी भुक्तानी भएको हो।
नेपाल भ्रमणमा आउने १० भन्दा मुलुकका पर्यटकले क्युआर मार्फत यहाँ भुक्तानी गर्न सक्छन्।
चीन, दक्षिण पूर्वी एसिया र अफ्रिका लगायतका मुलुकहरूका १४ इ-वालेट र मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले नेपाल भ्रमणमा रहँदा यसरी भुक्तानी गर्न सक्छन्।
यस्ता विद्युतीय भुक्तानीको यो सेवाको सुरूवातसँगै अब पर्यटकलाई आफूसँग रहेको विदेशी मुद्रा साटिरहनु पर्ने वा नगदै रकम बोकेर यात्रामा निस्कनु पर्ने बाध्यता हटेको छ। यसले उनीहरूको खर्चमा बढोत्तरी हुनसक्ने सम्भावना समेत रहने मानिएको छ।
मर्चेन्टहरूको लागि कतिपय नेपाली कम्पनीले छुट्टै बिजनेस एप विकास गरेका छन्। यस्ता एपले पर्यटकहरूबाट हुन सक्ने भुक्तानीको तत्काल जानकारी यस्ता एपमार्फत् बिक्रेताले प्राप्त गर्न सक्छन्।
जसले गर्दा भुक्तानीको एसएमएस मार्फत् जानकारी ढिलो आउँदा पर्यटकलाई पर्खाइ रहन पर्ने अवस्था हट्न थालेको छ।
बैंकहरूको सात सय ५३ स्थानीय तहमा पहुँच विस्तार भएकोले नेपाल पेको प्रयोग यहाँ भ्रमणमा आउनेले जहाँबाट पनि भुक्तानी गर्न सक्ने अवस्था छ।
पर्यटकहरूले सजिलै भुक्तानी गर्न सक्ने भएकोले यसले स्थानीय व्यापारीको अन्तर्राष्ट्रिय बजारमा पहुँच पुग्ने र उनीहरूको व्यापारमा विस्तार हुनसक्ने सम्भावना समेत रहेको छ। नेपाली अर्थतन्त्रलाई डिजिटल्ली लैजान सहज हुने विश्वास गरिएको छ।
पर्यटन नेपालको अर्थतन्त्रको एउटा मुख्य आधारमध्ये रहेकोले यो सेवाको सुरूवातसँगै यसले पर्यटन क्षेत्रलाई थप आकर्षित गर्ने सम्भावना छ।
हाल नेपालमा वार्षिक ११ लाख ४७ हजार पर्यटक आउने गरेका छन् भने पर्यटन क्षेत्रबाट वार्षिक ८२ अर्ब रूपैयाँ भित्रिने गरेको छ।
नेपालमा भुक्तानी स्वीकार हुने केही विदेशी वालेट
चीनको अलिपे
हङकङको अलिपे एचके
इटालीको तिनाबा
मकाओको एमपे
मलेसियाको टच एण्ड गो इ वालेट, माइपिबी
मन्गोलियाको हाइपे
फिलिपिन्सको जी क्यास
थाइल्याण्डको ट्रु मनी
सिंगापुरको छान्जी पे र ओसिबिसी डिजिटल
दक्षिण कोरियाको ककाओ पे, नेभर पे र टस पे
क्युआर मार्फत् विदेशीले मासिक रूपमा गरेको भुक्तानी
| कारोबार संख्या | रकम |
२०८० फागुन | ६ हजार ८२७ | १ करोड ५५ लाख |
२०८० चैत | १३ हजार ८३१ | ३ करोड २२ लाख |
२०८१ वैशाख | २१ हजार २५९ | ४ करोड ६९ लाख |
२०८१ जेठ | ४३ हजार ९३० | १० कराेड ९८ लाख |
२०८१ असार | ४८ हजार ८५४ | ११ करोड ७१ लाख |
२०८१ साउन | ३८ हजार २०६ | ९ करोड ४६ लाख |
२०८१ भदौ | ३७ हजार ३९३ | १० करोड ४९ लाख |
२०८१ असोज | ४३ हजार ९०६ | १३ करोड ९४ लाख |
२०८१ कात्तिक | ५० हजार ४५५ | १५ करोड ५६ लाख |
२०८१ मंसिर | ५६ हजार ७१२ | १९ करोड ५८ लाख |
२०८१ पुस | ८९ हजार १८६ | ३१ करोड ४४ लाख |
२०८१ माघ | ७३ हजार ६०१ | २६ करोड ०२ लाख |
२०८१ फागुन | ८१ हजार १७९ | २० करोड ५० लाख |
कुल | ६ लाख ०५ हजार ३३९ | १ अर्ब ७९ करोड १९ लाख |