दोर्दी खोला जलविद्युतले आज (मंगलबार) देखि हकप्रद सेयर बिक्री खुला गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको शत प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो।
कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद निष्कासन गरेको हो।
जस अनुसार कम्पनीले १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो।
उक्त हकप्रद निष्कासन प्रयोजनको लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरेको छ।
बुक क्लोजको आधारमा फागुन १३ गतेसम्मका कायम सेयरधनीहरूले उक्त हकप्रदमा लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको हकप्रदमा वैशाख ८ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सानिमा बैंकको विराटनगर, विरगञ्ज, पोखरा, रुपन्देही, बाँके, सुर्खेत, धनगढी र लमजुङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रयोग गरी सी आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।
इक्रा नेपालले कम्पनीलाई 'इक्रा एनपी इस्युअर रेटिङ बी प्लस' प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।