नेपालको आफ्नै पेमेन्ट कार्ड सार्वजनिक गरिएको छ।
सोमबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) ले 'नेपाल–पे' कार्ड सार्वजनिक गरेको हो। सो कार्डको उद्घाटन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरे।
'नेपाल–पे कार्ड, नेपालको आफ्नै कार्ड' भन्ने नारासहित सुरू गरिएसँगै नेपालीहरूले आफ्नै भुक्तानी कार्ड प्रयोग गरेर कारोबार गर्न सक्ने भएका एनसिएचएलले जनाएको छ।
सुरूआतमा सिटिजन्स बैंक, गुडविल फाइनान्स, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, एनएमबी बैंक, प्रभु बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बैंकले यो कार्ड जारी गर्नेछन्।
डेबिट, क्रेडिट, प्रिपेड, भर्चुअल कार्डहरू क्रमिक रूपमा उपलब्ध हुने एनसिएचएलले जनाएको छ।
एनसिएचएलका अनुसार यो प्रणाली विशेषगरी नेपालमै विकसित भएकाले यस अन्तर्गत हुने सबै कारोबारको तथ्यांक नेपालमै रहनेछ। यसले भुक्तानी प्रक्रिया अझ सुरक्षित र प्रभावकारी बनाउने बताइएको छ। भविष्यमा यो कार्डलाई अन्तर्राष्ट्रिय रूपमा पनि प्रयोग गर्न मिल्ने बनाउने तयारी भइरहेको छ।
सोमबार हिमालयन बैंकले गभर्नर अधिकारीको नाममा पहिलो नेपाल–पे कार्ड जारी गरेको थियो। त्यस्तै माछापुच्छ्रे बैंकमा पहिलो पिओएस कारोबार गरिएको थियो।
गभर्नर अधिकारीले यो पेमेन्ट कार्डले देशको आर्थिक स्वायत्तता बढाउने बताए।
'भिसा र मास्टर कार्ड जस्ता अन्तर्राष्ट्रिय प्रदायकमार्फत भुक्तानी गर्दा अतिरिक्त लागत लाग्थ्यो। अब नेपालमै कार्ड सञ्चालन हुँदा सो खर्च बचत हुनेछ,' अधिकारीले भने।
नेपाल राष्ट्र बैंकले आफ्नै भुक्तानी प्रणाली विकास गर्ने रणनीति अनुरूप यो योजना अघि बढाएको हो। आवश्यक सबै तयारी पूरा भइसकेको र अब बैंकहरूलाई यस प्रणालीमा जडान गर्ने काम हुने जानकारी गराइएको छ। एनसिएचएलले बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरूसँग सहकार्य गर्दै नेपाल–पे कार्डलाई अझ प्रभावकारी बनाउने जनाएको छ।
एनसिएचएलका अनुसार नेपाल–पे कार्डको मुख्य फाइदा भनेको यसले कारोबार सरल, सुरक्षित र सुलभ बनाउँछ। विदेशी कार्ड प्रयोग गर्दा नेपालबाट ठूलो रकम बाहिरिन्छ। नेपालमै कार्ड सञ्चालन हुँदा त्यो खर्च जोगिन्छ। साथै, सबै जानकारी देशमै रहने भएकाले यसको सुरक्षा पनि बढी हुनेछ। यो कार्डले नेपालभित्र सहज डिजिटल कारोबारको नयाँ युग सुरू गर्ने विश्वास गरिएको छ।
