फागुन २५ गते राष्ट्र बैंकमा राखेको २५ अर्ब रूपैयाँ परिपक्व भएर आजै (आइतबार) बैंकहरूमा फर्किदैछ।
यही कराण राष्ट्र बैंकले आइतबार बैंकहरूले राख्न चाहेमा २५ अर्ब रूपैयाँ फेरि पनि राख्न सक्ने भन्दै निक्षेप संकलन उपकरण खुला गरेको छ।
बैंकमा बढी पैसा हुँदा तान्न र आवश्यक पर्दा पठाउने गरी राष्ट्र बैंकले विभिन्न वित्तीय उपकरण जारी गरिरहेको हुन्छ।
पछिल्लो समय बैंकहरूले कर्जा लगानी गर्न नसकिरहेको कारण धेरै भएको रकम राष्ट्र बैंकले तानिरहेको छ।
बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गरेर बचेको रकम राष्ट्र बैंकमा राख्छन्। अहिले यसरी राखिने रकम कम हुँदै गएको देखिएको हो। यसले बैंकहरूको कर्जा प्रवाह विस्तारै बढ्दै गएको संकेत गर्छ।
बैंकहरूले आफूसँग भएको सबै रकम कर्जा लगानी गर्न पाउँदैनन्। निक्षेप झिक्न आउने सर्वसधारणलगायतलाई दिनुपर्ने भुक्तानी नरोकियोस् भनेर निक्षेप संकलन, चुक्ता पुँजी लगायत रकमको कम्तीमा २० प्रतिशत तरल सम्पत्तिको रूपमा राख्छन्।
जति बेला चाहिन्छ त्यो बेला झिक्न सकियोस् भनेर बैंकहरूले यस्तो सम्पत्तिको रूपमा राखेका हुन्छन्।
यस्ता सम्पत्ति भनेको सरकारी ऋणपत्रहरू नै हुन्। बैंकहरूले केही रकम नै पनि राष्ट्र बैंकमा राख्छन्।
यसअघि राष्ट्र बैंकमा चार खर्ब रूपैयाँसम्म राखेका बैंकहरूले यसरी राखिएको रकम चैत १४ गते दुई खर्ब दुई करोड छ।
कात्तिक २० गते यसरी राष्ट्र बैंकमा रहेको बैंकहरूको रकम चार खर्बसम्म थियो। लामो समयसम्म यस्तो रकम तीन खर्ब माथि नै रह्यो।
अहिले भने यस्तो रकम घट्न थालेको हो। राष्ट्र बैंकमा रहेको बैंकहरूको यस्तो रकम माघ १० गते यता लगातार तीन खर्बभन्दा तल नै रहेको छ।