ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बीच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडलहरू अगाडि बढाउन एडभाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आइएफसीको तर्फबाट एफआइजी, एसिया र प्यासिफिक रिजनल इन्ड्रष्टी डाइरेक्टर एलेन फोर्लेमुले हस्ताक्षर गरे।
यस सम्झौताअनुसार विश्व बैंक समूहअन्तर्गत रहेको आइएफसीले ग्लोबल आइएमई बैंकको डिजिटल रुपान्तरण तथा डाटा म्याचुरिटी मूल्यांकन गर्ने, सुधार गर्न आवश्यक रहेका क्षेत्रहरू पहिचान गर्ने र बैंकको डिजिटल बैंकिङ क्षमता अभिवृद्धि गर्नका लागि रणनीतिक सुझाव प्रदान गर्नेछ।
साथै, आइएफसीले एम्बेडेड फाइनान्स मोडेलहरू प्रवर्द्धन गर्न फिनटेकको सम्भाव्यता अध्ययन गरी ग्लोबल आइएमई बैंकलाई सल्लाह प्रदान गर्नेछ।
यस समझदारीपछि बैंकमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरूलाई रुपान्तरण गरी नवीन र प्रविधीमैत्री सेवाहरू विकास गर्न सहज हुने विश्वास बैंकले लिएको छ।
ग्लोबल आइएमई बैंकले आफ्नो ग्राहकहरुलाई अन्तर्राष्ट्रिय स्तरको डिजिटल बैंकिग सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी दिँदै यस सम्झौताले बैंकको डिजिटल बैंकिङको प्रवर्द्धनमा सहयोग पुग्नुका साथै फिनटेकमा नयाँ–नयाँ विकास र प्रयोग गर्न सहयोग पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बताए।
उनले डिजिटल बैंकिङ र फिनटेक साझेदारीमा आइएफसीले विश्वभरीबाट आर्जन गरेको ज्ञान र अनुभवले नेपालको बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो।
साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट फरक–फरक विधामा सम्मानित भएको छ।
बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखा रहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।