सिद्धार्थ बैंकले विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रूपमा सचेत र सशक्त बनाउने उद्देश्यले मार्च १७ देखि २३ गतेसम्म सप्ताहव्यापी रूपमा मनाइएको ग्लोबल मनी विकको अवसर पारी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ।
यस वर्षको ग्लोबल मनी विक २०२५ को नारा 'थिंक बिफोर यु फोलो, वाइज मनी टुमरो' लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले देशका सातै प्रदेशमा विद्यालय एवं क्याम्पस गरी २४ स्थानहरूमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरिएको थियो।
बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराई विद्यार्थीहरूमा वित्तीय ज्ञान, सिप, मनोवृत्ति तथा व्यवहारमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रममा एक हजार २१२ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।
साथै, विद्यार्थीहरूलाई बैंकको आधारभूत बैंकिङ सञ्चालन र विभिन्न बैंकिङ माध्यमहरू सम्बन्धी व्यवहारिक रूपमा शिक्षा प्रदान गर्ने उद्देश्यले ४४८ जना विद्यार्थीहरूलाई बैंकको विभिन्न शाखामा भ्रमण कार्यक्रम पनि आयोजना गरिएको थियो।
यस सप्ताहव्यापी रूपमा मनाइएको ग्लोबल मनी विकमा बैंकले कुल ३८ कार्यक्रम मार्फत एक हजार ६६० विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गरेको थियो।
बैंकले देशका सम्पूर्ण व्यक्तिमा वित्तीय सेवाको पहुँच पुर्याउने र हरेक वर्ग र क्षेत्रका मानिसलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रमहरू सञ्चालन गरेको हो।
उक्त कार्यक्रमहरूबाट वित्तीय शिक्षाको महत्त्वका बारेमा जागरण ल्याउने हेतुले वार्षिक रूपमा मनाइने साप्ताहिक अन्तर्राष्ट्रिय अभियान ग्लोबल मनी विकको उद्देश्यहरूलाई प्राप्त गर्न मद्दत पुगेको विश्वास बैंकले लिएको छ।