गभर्नरको दौडमा रहेका ज्ञानेन्द्र प्रसाद ढुंगानाले नबिल बैंकबाट राजीनामा दिएका छन्।
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका ढुंगानाको पदावधि अझै डेढ वर्ष बाँकी छ।
'बैंक तथा वित्तीय संस्थामा आबद्ध भइरहेकै अवस्थामा गभर्नर बन्न नमिल्ने र सरकारले गभर्नर नियुक्तिको लागि समिति समेत बनाएपछि सो पदमा उम्मेदवारी दिन बैंकमा राजीनामा दिएको हुँ,' ढुंगानाले भने।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गभर्नर छनोटको लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ।
समितिका सदस्यमा पूर्व गभर्नर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेल छन्।
अहिलेका गभर्नर डा. महाप्रसाद अधिकारीको पदावधि चैत २४ गते सकिँदैछ। अधिकारी अहिले बिदामा बसेका छन्।
गभर्नरको आकांक्षीको रूपमा राष्ट्र बैंककै डेपुटी गभर्नर, कार्यकारी निर्देशक र केही बैंकरदेखि अन्य क्षेत्रका व्यक्तिहरूको नाम आइरहेका छन्।