आजबाट सेयर बजारमा नयाँ अभ्यास सुरू भयो।
अन्तिम १५ मिनेट अर्थात् २ बजेर ४५ मिनेटदेखि ३ बजेसम्म कायम मूल्यको औसत लिएर अन्तिम कारोबार मूल्य तोक्न थालिएको छ।
अन्तिम समयमा कम्पनीको सेयर मूल्य बढाएर चलखेल गर्ने प्रवृत्तिलाई रोक्नु पर्ने माग सम्बोधन गर्न यस्तो व्यवस्था गरिएको हो।
बिहीबार तीन सय १२ कम्पनी तथा स्क्रिप्स कारोबारमा आए।
धेरै कम्पनीको बजारको अन्तिम समयमा भएको कारोबार र बिहीबारबाट लिन थालिएको औसत मूल्यबीचको अन्तर खासै देखिएन।
तर, १४ वटाको कम्पनीको सेयर मूल्यमा भने उच्च दरमा फरक देखिएको छ। यी १४ कम्पनीको ९ रूपैयाँ ५९ पैसादेखि ३६ रूपैयाँ ८८ प्रतिशतसम्म मूल्य फरक परेको छ। प्रतिशतको आधारमा ०.६५ प्रतिशतदेखि २.८५ प्रतिशतसम्म फरक देखिएको छ।
लक्ष्मी लघुवित्त, सिक्लेस हाइड्रोपावर कम्पनीको सेयर मूल्यबीच २ प्रतिशतभन्दा धेरैले फरक परेको हो।
अन्तिममा समय बढाउँदा लगानीकर्तालाई दुई तरिकाले फाइदा पुग्दै आएको थियो। एउटा, सेयर धितो कर्जा लिएकाहरूले मार्जिन (धितो) थप्न नपर्ने हुन्थ्यो।
त्यस्तै, अघिल्लो दिन थोरै सेयर बढी मूल्यमा किनेर भोलिपल्टको कारोबारमा मूल्य बढाएर आफूसँग यसअघि नै रहेको सोही कम्पनीको सेयर बिक्री गरेर नाफा निकल्न सक्थे।
किनभने भोलिपल्टको कारोबारमा अघिल्लो दिनको अन्तिम मूल्यको दुई प्रतिशतसम्म घटबढ हुने गरेर कारोबार गर्न पाइने व्यवस्था नेपाल स्टक एक्सचेन्जको प्रणालीमा छ।
बिहीबारबाट कुनै कम्पनीको अन्तिम १५ मिनेटमा कुनै सेयर किनबेच भएन भने १५ मिनेट बाँकी हुँदा बजारमा जुन मूल्य छ त्यही नै कायम हुने व्यवस्था गरिएको छ।
नेपालमा पहिलो पटक यस्तो अभ्यास गरिएको भए पनि विभिन्न मुलुकमा धेरै अघि देखिनै अभ्यास प्रचलनमा छ।
छिमेकी राष्ट्र भारतकै उदाहरण लिन सकिन्छ। भारतका दुई ठूला स्टक एक्सचेन्ज बम्बे स्टक एक्सचेन्ज र नेसनल स्टक एक्सचेन्जको उदाहरण हेर्ने हो भने फरक अभ्यास रहेको देखिन्छ।
उनीहरूले बजारको नियमित कारोबार समयको अन्तिम ३० मिनेटभित्रमा हुने कारोबारको आधारमा कम्पनीहरूको औसत मूल्य निकाल्छन्। यही अन्तिम मूल्य मानिन्छ।
भारतमा बिहान नौ बजेदेखि चार बजेसम्म सेयर कारोबारको लागि बजार खुल्छ। तर, फरक–फरक तरिकाले कारोबार गर्न सकिने गरेर यो अवधिलाई त्यहाँ विभिन्न भागमा बाडिएको छ।
बिहान ९ बजेदेखि ९ बजेर १५ मिनेटको समयलाई प्रिओपन, ९ बजेर १५ देखि ३ बजेर ३० मिनेटसम्मको कारोबारलाई नियमित सेयन र ३ बजेर ४० मिनेटदेखि चार बजेको समयलाई पोस्ट क्लोजिङ सेसन मानिन्छ।
अन्तिम मूल्य लिँदा भने ३ बजेदेखि ३ बजेर ३० मिनेट जाँदा हुने कम्पनीहरूको कारोबार परिमाण र मूल्यलाई लिइन्छ। ती अन्तिम समयमा कारोबार भएको सेयर संख्या र मूल्यको आधार औसत मूल्य निकालेर अन्तिम मूल्य तोक्ने गर्छ।
उदाहरणको लागि, कुनै कम्पनीको अन्तिम समयमा तीन वटा कारोबार भयो। पहिलो कारोबारमा १० कित्ता सेयर दुई सय ३१ भारुमा कारोबार भयो। दोस्रो पटक, दुई सय २९ भारुको दरमा एक सय कित्ता सेयर किनबेच भयो।
तेस्रो पटक, दुई सय ३३ भारुमा ४० कित्ता सेयर कारोबार भयो। यो तीन पटकको कारोबारमा औसत मूल्य दुई सय ३० भारु हुन्छ। यसैलाई अन्तिम मूल्य मान्ने गरिएको छ।
| औसत अन्तिम मूल्य | अन्तिम मूल्य | फरक मूल्य | फरक प्रतिशत |
उपकार लघुवित्त | ३५७७ .८८ | ३५४१ | ३६.८८ | १.०४ |
विशाल बजार कम्पनी | ५४१०.६९ | ५३७६ | ३४.६९ | ०.६५ |
गणपति लघुवित्त | १६८०.९५ | १७०० | १९.०५ | १.१२ |
ग्रिन डेभलपमेन्ट बैंक | १४६७.८७ | १४४८ | १९.८७ | १.३७ |
हिमालयन पावर पार्टनर | ६०८.६१ | ५९८ | १०.६१ | १.७७ |
लक्ष्मी लघुवित्त | १०८२.२८ | १११४ | ३१.७२ | २.८५ |
मातृभूमी लघुवित्त | १२४२.७९ | १२३३.२० | ९.५९ | ०.७८ |
मिथिला लघुवित्त | २२६१.८१ | २२७४ | १२.१९ | ०.५४ |
नारायणी डेभलपमेन्ट बैंक | १९६६.४९ | १९७८ | ११.५१ | ०.५८ |
एसबिआई बैंक डिबेञ्चर २०८३ | १०७१.३६ | १०६१ | १०.३६ | ०.९८ |
सिक्लेस हाइड्रो | ११४८.८४ | ११७४.७० | २५.८६ | २.२० |
सामुदायिक लघुवित्त | २१२१.६२ | २१३४ | १२.३८ | ०.५८ |
स्वाभिमान लघुवित्त | १८८६.६० | १९०० | १३.४० | ०.७१ |
सुपर मादी हाइड्रोपावर | ९५२.७४ | ९६५ | १२.२६ | १.२७ |