ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीरहरू समावेश नयाँ वर्ष २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ।
नेपाल उद्योग वाणिज्य महासंघ तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको कर्पाेरेट कार्यालय, कमलादीमा आयोजित एक समारोहबीच नयाँ वर्ष २०८२ को क्यालेन्डर सार्वजनिक गरे।
क्यालेण्डरमा दशकौं अघिका नेपाली जीवनशैली, रहनसहन र परम्परागत अभ्यासलाई कैद गरिएका दुर्लभ तस्वीरहरू समावेश गरिएको छ।
तस्वीरहरूले समयको प्रवाहसँगै परिवर्तन भएका जीवनशैली र रहनसहनको स्मरण गराउँदै नयाँ पुस्ताहरूलाई विगतको जीवनशैली, रहनसहन तथा अवस्थाका बारेमा जानकारी गराउन सहयोग पुग्नेछ।
क्यालेन्डर सार्वजनिक गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई पूरा गर्दै विभिन्न सामाजिक कार्यहरू गर्दै आएको बताए।
विगतका वर्षहरूमा क्यालेण्डरमा नेपाली कला र संस्कृतिसम्बन्धी विषयहरू प्रकाशन गर्ने गरेको स्मरण गराउँदै उनले भने, 'नेपालको सर्वांगिण विकासका लागि हामीले नेपाली कला, साहित्य, संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवर्द्धन गर्न आवश्यक छ ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यहरूलाई निरन्तरता दिँदै आएको छ।'
कार्यक्रममा बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापनलगायत बैंकका कर्मचारी तथा विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो।
बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालय सहित एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।