मुलुक बाह्य क्षेत्र दबाबबाट बाहिर आएको केही वर्ष भइसकेको छ।
अहिले मुलुकको विदेशी मुद्राको सञ्चितिले १४ महिना १२ दिनका लागि चाहिने आयात धान्न सक्छ। यसपालि माघमा भएको २३ खर्ब ६९ अर्ब रूपैयाँ विदेशी मुद्रा सञ्चिति इतिहासकै उच्च हो।
बाह्य अर्थतन्त्र बलियो बन्दै गए पनि आन्तरिक अर्थतन्त्र उकासिन सकिरहेको थिएन। किनभने, नेपाली अर्थतन्त्र उपभोगमा आधारित छ। निकै लामो समय उपभोग नबढ्दा यसले आयातमा पनि प्रभाव पार्यो भने आन्तरिक अर्थतन्त्र पनि केही शिथिल देखियो।
अहिले भने आन्तरिक अर्थतन्त्रमा सुधार आउन थालेको संकेत देखिन थालेका छन्। विशेषगरी उपभोगका लागि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जाने केही कर्जामा वृद्धि देखिएको छ।
पहिले आयातकै कुरा गरौं।
मासिक आधारमा हेर्दा तीन महिनादेखि मासिक आयात क्रमशः बढिरहेको छ।
मंसिरमा एक खर्ब ४८ अर्ब रूपैयाँ बराबरको आयात भएको थियो। पुसमा एक खर्ब ६० अर्ब र माघमा एक खर्ब ६६ अर्ब रूपैयाँको आयात बढेको छ।
उपभोगमा आधारित भएकै कारण नेपालीहरूको उपभोग बढ्दा आयातमा वृद्धि हुन्छ।
अघिल्लो वर्ष माघको तुलनामा १०.१ प्रतिशतले बढेर यसपालि माघमा ९ खर्ब ८८ अर्ब रूपैयाँको कुल आयात भएको थियो।
अघिल्लो माघमा आठ खर्ब ९७ अर्ब रूपैयाँ बराबरको आयात भएको थियो। यसमा पनि औद्योगिक उत्पादनलाई सघाउने आयात बढिरहेको देखिन्छ।
स्थिर पुँजी निर्माण गर्ने खालका वस्तुको र मूल्य अभिवृद्धि गर्ने अर्धतयारी वस्तुको आयात पनि बढेको छ।
स्थिर पुँजी निर्माणमा सघाउने आयात अघिल्लो माघको तुलनामा ९.६ प्रतिशतले बढेर ८७ अर्ब ७५ करोड र मूल्य अभिवृद्धि गर्ने अर्धतयारी वस्तुको आयात १४.४ प्रतिशतले बढेर पाँच खर्ब ६ अर्ब पुगेको छ। कुल आयातमा यी दुई वस्तुको आयात नै ६० प्रतिशत बराबर छ।
'उपभोग बढ्दा आयात बढ्छ। यसले आन्तरिक अर्थतन्त्रलाई पनि केही न केही गति दिन्छ,' राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अनुसन्धान विभाग डा. गुणाकर भट्टले भने, 'अझ मूल्य अभिवृद्धि गर्ने वस्तुको आयात बढेकाले औद्योगिक उत्पादन पनि वृद्धि हुँदै जाने र अर्थतन्त्र चल्दै जाने मान्न सकिन्छ।'
राष्ट्र बैंकको तथ्यांक अनुसार औद्योगिक प्रतिष्ठानमा जाने कर्जा सात महिना (साउनदेखि माघसम्म) मा १७.७० प्रतिशत, अर्थात एक खर्ब ९७ अर्बले बढेर १२ खर्ब ८२ अर्ब पुगेको छ।
सेवा क्षेत्रमा जाने कर्जा पनि १४.८९ प्रतिशतले बढेर पाँच खर्ब ७९ अर्ब रूपैयाँ पुगेको छ। व्यापारिक क्षेत्रमा जाने कर्जा भने १.३ प्रतिशतले घटेर १२ खर्ब ६७ अर्ब रूपैयाँ भएको छ।
आवधिक कर्जा, आयात कर्जा, चालु पुँजी कर्जा अन्तर्गत यी तीन क्षेत्रमा यसरी कर्जा गएको हो।
आयात बढ्न थालेकै कारण समग्र उपभोगमा जाने कर्जा पनि ५.९ प्रतिशत (६० अर्ब रूपैयाँ) ले बढेर १० खर्ब ७३ अर्ब रूपैयाँ पुगेको छ।
यस्तो उपभोगमा पनि यो अवधिमा व्यक्तिगत सवारी कर्जामा १४.२१ प्रतिशतले वृद्धि भएर ४२ अर्ब सात करोड रूपैयाँ पुगेको छ।
सेयर धितोमा जाने कर्जा २७ प्रतिशत (२५ अर्ब रूपैयाँ) ले बढेर एक खर्ब १५ अर्ब रूपैयाँ पुगेको छ।
समग्र उपभोग कर्जामा पर्ने मुद्दती निक्षेपको रसिदको आधारमा जाने कर्जा भने यो सात महिनामा २४.३ प्रतिशत (आठ अर्ब रूपैयाँ) ले घटेर २७ अर्बमा सीमित भएको छ।