डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र हिमालयन बैंकबीच विद्युतीय कारोबार सम्भव बनाउनको लागि साझेदारी भएको छ।
यस साझेदारीपछि अब इसेवा प्रयोगकर्ता तथा हिमालयन बैंकका ग्राहकहरूले सहजै विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्न सक्नेछन्।
दुवै संस्थाका ग्राहकहरूलाई थप सेवा र पहुँच प्रदान गर्ने उद्देश्यले गत हप्ता एउटा औपचारिक कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरूले सम्झौता पत्रमा हस्ताक्षर गरी यस सेवाको प्रारम्भ गरेका हुन्।
यस साझेदारी पश्चात अब हिमालयन बैंकको ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप (एचआई–एमबी) प्रयोग गरी सिधै इसेवा वालेटमा रकम लोड गर्न सक्नेछन् भने इसेवा प्रयोगकर्ताहरूले आफ्नो इसेवा वालेटमा भएको रकम हिमालयन बैंकको खातामा ट्रान्सफर गर्न सक्नेछन्।
इसेवामा हालसम्म ४९ वटा साझेदार बैंक तथा वित्तीय संस्थाहरू आबद्ध छन् र यसमा हिमालयन बैंक पनि जोडिए पश्चात नेपालको डिजिटल वित्तीय सेवामा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
इसेवा र हिमालयन बैंकबीच भएको यस सम्झौताप्रति खुशी व्यक्त गर्दै, इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले यो सम्झौताले दुवै पक्षका ग्राहकलाई बिना झन्झट आफ्नो बैंक खाता र इसेवा वालेटबीच रकम ट्रान्सफर कार्य गर्न सहज बनाउने उल्लेख गरेका छन्।
यस सम्झौताले ग्राहकहरूको अमूल्य समय बचाउनुको साथै डिजिटल कारोबारलाई थप सुरक्षित र प्रभावकारी बनाउने कुरामा समेत उनले जोड दिए।