मंगलबार पनि नेप्सेमा करेक्सन आएको छ।
लगातार १० दिन दुई सय १२ अंकले बजार बढेकाले लगानीकर्ताले नफा सुरक्षित गर्न थाल्दा नेप्सेमा करेक्सन आएको हो।
मंगलबार नेप्से परिसूचक ३०.३६ अंकले घटेर २८४६.३० विन्दुमा झरेको हो।
मंगलबार कारोबार रकममा पनि गिरावट आएको छ।
गत कारोबार दिन अर्थात् सोमबार १४ अर्ब २८ करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार १२ अर्ब ९४ करोडको कारोबार भएको छ।
यो रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ३४ करोड रूपैयाँ कमी आएको हो।
आज ३१८ वटा धितोपत्रको दुई करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर किनबेच भएको हो।
मंगलबार ४१ कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ वटाको घटेको छ। यस्तै पाँच कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३८२ रूपैयाँ कायम भएको छ।
यस्तै, आत्मनिर्भर लघुवित्तको मूल्य ६.६६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य पाँच हजार ९१ रूपैयाँ कायम भएको छ।
मंगलबार सिन्धु विकास बैंकको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २३३ रूपैयाँमा झरेको छ।
यस्तै, श्रीजनशील लघुवित्तको मूल्य ९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य दुई हजार ३५५ रूपैयाँ कायम भएको छ।
मंगलबार हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार १२४ रूपैयाँ १० पैसामा एक अर्ब नौ करोड ३० लाख रूपैयाँको सेयर कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ३४१ रूपैयाँमा ६४ करोड २५ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्येसबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशतले घटेको छ।
यस्तै, दोस्रोमा वित्त समूहको परिसूचक २.१० प्रतिशतले घटेको छ।