ओम मेगाश्री फर्मास्युटिकल्सले वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि बिक्री गरेको आइपिओमा आवेदन दिने आज (सोमबार) अन्तिम दिन रहेको छ।
कम्पनीको आइपिओमा अन्तिम दिनसम्म १३ करोड ७२ लाख ७६ हजार रूपैयाँ बराबरको १३ लाख ७२ हजार ७६० कित्ताको लागि आवेदन परेको छ।
सिडिएस एण्ड क्लियरिङका अनुसार सोमबार साँझ ५ बजेसम्म ५१ हजार ७२९ जनाले आवेदन दिएका छन्।
यो आवेदन मागभन्दा ७.६२ गुणा बढी हो।
कम्पनीले जारी पुँजी ६० करोड रूपैयाँको ३० प्रतिशत अर्थात् १८ करोड रूपैयाँ बराबरको १८ लाख कित्ता सेयर आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो।
सोमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रूपैयाँ बराबरको १ लाख ८० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो।
कम्पनीले ५ प्रतिशत अर्थात ९० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत अर्थात ५४ हजार कित्ता सेयर कम्पनीका कर्मचारीहरूलाई छुट्याएको छ।
बाँकी रहेको १४ लाख ७६ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्नेछ।
कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
कम्पनीलाई केयर रेटिङ नेपालले 'केयरएनपी डबल बी माइनस' इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम रहेको जनाउँछ।
कम्पनीले सेयर जारी गरेपछि चुक्ता पुँजी ६० करोड रूपैयाँ पुग्ने भएको छ।
यो उद्योगको लागि आवश्यकमध्ये ६७ प्रतिशत पुँजी ऋणबाट जुटाइएको हो। ३३ प्रतिशत पुँजी सेयरबाट जुटाइने भएको हो।
३३ प्रतिशतमध्ये ३० बराबर रकम सेयर जारी गरेर उठाइने भएको हो।