साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
नेप्से १९.५६ अंकले बढेर २६९८.०३ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन अर्थात बिहीबार सात अर्ब ९२ करोडको कारोबार भएकोमा आइतबार नौ अर्ब ४७ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ५५ करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३०९ वटा धितोपत्रको दुई करोड नौ लाख ८४ हजार ४४० कित्ता सेयर किनबेच भएको हो।
आइतबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६३ वटाको घटेको छ। यस्तै चार कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
विन नेपाल लघुवित्त, गुँरास लघुवित्त, नेपाल फाइनान्स, जानकी फाइनान्सको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ भने गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य ९.९९ प्रतिशत र पोखरा फाइनान्सको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ।
आइतबार न्यादी हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७०३ रूपैयाँ १० पैसामा झरेको छ।
यस्तै, एनएलजी इन्स्योरेन्सको मूल्य ९.५५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९९५ रूपैयाँ कायम भएके छ।
आइतबार एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ४११ रूपैयाँमा ३३ करोड ५४ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.२८ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिइडिबी होल्डिङ्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता दुई हजार २१४ रूपैयाँमा ३१ करोड ३८ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड र निर्जीवन बीमा समूहको घटेको छ भने बाँकी ११ समूहको परिसूचक बढेको हो।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ४.९४ प्रतिशतले बढेको छ।
यस्तै, निर्जीवन समूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशतले घटेको छ।